काठमाण्डौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले ठूलो परिमाणको रकमसहित चिनियाँ मूलका भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चीनको सिचुआन प्रान्तबाट आएका थिन्ले छोदेन रहेका त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले जानकारी दिएको छ ।
कार्यालयका अनुसार आजै दिउँसो चीनको सिचुआन प्रान्तबाट आई दिल्ली जान लागेको अवस्थामा छोदेनलाई १६ हजार ४ सय ३० अमेरिकी डलर, ५४ हजार ४ सय ५१ चिनियाँ युआन र ५ हजार भारतीय रुपैयाँसहित पक्राउ गरिएको हो । छोदेनलाई प्रहरी वृत्त गौशालामा राखी आवश्यक अनुसन्धान शुरु गरिएको प्रहरीको भनाइ छ ।
पक्राउ परेका छोदेन भारतको दलैलामा रहेको धर्मशालामा बस्ने गरेको खुलेको र उनको साथमा भारतीय राहदानी भएको प्रहरी नायब महानिरीक्षक ठकुरीले बताउनुभयो । छोदेनबाट प्रहरीले बरामद गरेको रकम ३१ लाख ५० हजार रुपैयाँ बराबर रहेको जनाइएको छ ।
खबर बजार । ३० आश्विन २०८०, मंगलवार १६:५०