राष्ट्रिय सभामा एमाले-काँग्रेसका उम्मेदवार विजयी

काठमाडौं । व्यवस्थापिकाको उपल्लो निकाय राष्ट्रिय सभामा नेकपा (एमाले) र नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् ।

आइतबार प्रदेश प्रदेशमा तोकिएका मतदान केन्द्रमा भएको मतदानपछि प्राप्त नतिजाअनुसार काँग्रेसका नौ र एमालेका आठ जना उम्मेदवार विजयी भएका हुन् ।

काँग्रेसका सुनिलबहादुर थापा, धमेन्द्र पासवान, रन्जित कर्ण, गीता देवकोटा, जगत तिमिल्सिना, वासुदेव जंगल, चन्द्रबहादुर के.सी. ललितजंग शाही र खम्मबहादुर खाती विजयी भएका छन् ।

यसैगरी, एमालेबाट रोशनी मेचे, सोम पोर्तेल, रेखा झा, प्रेम दंगाल, सम्झना देवकोटा, रामकुमारी झाँक्री, मिनासिं रखाल र लीला भण्डारी निर्वाचित हुनुभएको छ ।

कांग्रेस र एमालेले सहमति गरेअनुसार नै राष्ट्रिय सभा सदस्यको रिक्त पदका लागि उम्मेदवारी दिएका थिए ।

राष्ट्रिय सभाका १९ जना सदस्यको कार्यकाल आगामी फागुन २० मा सकिँदैछ । त्यसमध्ये एक जना वामदेव गौतम राष्ट्रपतिबाट मनोनित सांसद हुन् । गौतमको ठाउँमा सरकारको सिफारिसमा अर्को व्यक्तिलाई राष्ट्रपतिले नै मनोनित गर्नुहुने छ । १८ पदका लागि ४४ जनाले उम्मेदवारी दिएका थिए ।