कर्णालीमा बालबिवाहका कारण सानै उमेरमा गर्भवती हुनेकाे दर उच्च

सुर्खेत । कर्णालीमा बालबिवाहका कारण सानै उमेरमा गर्भवती हुने दर धेरै रहेको पाइएको छ ।
कर्णाली प्रदेशका १० वटा जिल्लामा गर्भवती चेकजाँच गर्न आउने महिलाहरुमध्य १९ बर्ष मुनीका ३१ प्रतिशतभन्दा धेरै रहेको पाइएको छ ।
सबैभन्दा धेरै १९ बर्ष मुनीका गर्भवती हुनेमा जाजरकोटका ३८.५३ प्रतिशत महिला रहेको सामाजिक विकास मन्त्रालयको तथ्याङ्कले जनाएको छ ।
त्यसैगरी, सल्यानमा ३८.३२ प्रतिशत, रुकुम पश्चिममा ३७.५२ प्रतिशत, जुम्लामा ३३.१२ प्रतिशत, मुगुमा ३१.४२ प्रतिशत, सुर्खेतमा ३०.६७ प्रतिशत १९ बर्षमुनी गर्भवती हुने गरेका छन् ।
यस्तै, दैलेखका २८.९३ प्रतिशत, हुम्लामा २७ं.३० प्रतिशत, डोल्पामा २५.७१ प्रतिशत र कालिकोटमा २०.२० प्रतिशत गर्भवती १९ बर्ष मुनीका रहेको तथ्याङ्कमा उल्लेख छ ।
कर्णालीमा बालबिवाहको दर पनि उच्च रहेको पाइएको छ ।
राष्ट्रिय जनगणना २०७८ अनुसार कर्णालीमा बालबिवाहको दर उच्च देखिएको हो ।
कर्णालीमा हुने जम्मा बिवाहमध्य ७१ प्रतिशत बालबिवाह हुने गरेको तथ्याङ्कले देखाएको छ ।
पछिल्लो जनगणना अनुसार कर्णालीका दश जिल्लामध्य सबैभन्दा धेरै सल्यानमा ७५.७६ प्रतिशत बालबिवाह हुने गरेको गरेको छ ।
यस्तै, रुकुममा ७५.२७ प्रतिशत, दैलेखमा ७५.६७ प्रतिशत, जुम्लामा ७३.६३ प्रतिशत, जाजरकोटमा ७२.७८ प्रतिशत, मुगुमा ७२.३२ प्रतिशत, कालिकोटमा ७०.९४ प्रतिशत, सुर्खेतमा ७०.७६ प्रतिशत बालबिवाह हुने गरेको छ तथ्याङ्कमा जनाइएको छ ।
यस्तै, डोल्पामा ६१.८७ प्रतिशत र हुम्लामा ६०.४३ प्रतिशत बालबिवाह हुने गरेको देखिएको छ ।
२०६८ को जनगणनाको तथ्याङ्क र पछिल्लो तथ्याङ्कलाई तुलना गर्दा कर्णालीमा अझै आठ प्रतिशतभन्दा धेरैले बालबिवाहको दर बढेको देखिएको छ ।
दश बर्ष अगाडी २०६८ को जनगणअनुसार जम्मा बिवाहमध्य सल्यानमा ६९.६७ प्रतिशत बालबिवाह हुने गरेको थियो । भने रुकुम पश्चिममा ७१.०६ प्रतिशत, दैलेखमा ७०.२० प्रतिशत, जुम्लामा ६९ प्रतिशत, जाजरकोटमा ६५.३२ प्रतिशत बालबिवाह हुने गरेको थियो ।
यस्तै, दश बर्ष अगाडीसम्म मुगुमा ५७.०१ प्रतिशत, कालिकोटमा ५८.९७ प्रतिशत, सुर्खेतमा ६६.८८ प्रतिशत, डोल्पामा ४९.५२ प्रतिशत र हुम्लामा ५१.९१ प्रतिशत बालबिवाह हुने गरेको तथ्याङ्कमा उल्लेख छ ।