थप ३ महिना त्रिवि उपकुलपतिको जिम्मा भुसाललाई नै

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा थप तीन महिनाको लागि प्रा.डा.शिवलाल भुसाल पुन: नियुक्त भएका छन् । भुसालको पहिलो तीन महिनाको कार्यकाल मंगलबार (आज) सकिन अघि उनलाई सरकारले पुन नियुक्ति गरेको हो ।

१६ कात्तिकमा तत्कालीन उपकुलपति प्रा.डा.धर्मकान्त बास्कोटाको कार्यकाल सकिएपछि सरकारले १७ माघमा तत्कालीन रेक्टर प्रा.डा.शिवलाल भुसाल लाई तीन महिनाका लागि उपकुलपति नियुक्त गरेको थियो ।

सरकारले भुसाल लाई थप तीन महिनाको लागि पुन:नियुक्त गरिएको औपचारिक जानकारी आएको त्रिवि उपकुलपति कार्यलयले जनाएको छ । नयाँ उपकुलपति नियुक्त भइनसकेकोले उनलाई थप तीन महिनाको लागि पुन:नियुक्त गरिएको हो ।

सरकारले शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोक राईको नेतृत्वमा उपकुलपति छनोट तथा सिफारिस समिति गठन गरेको छ ।

समितिले २३ पुसमा उपकुलपतिको लागि दरखास्त आह्वान गरेको थियो । जसअनुसार ४३ जनाले उपकुलपतिका लागि आवेदन दिएका छन् । उनीहरुको छनौट प्रकृया शुरु भएको मन्त्रालय स्रोतले जनाएको छ ।