पश्चिम नवलपरासीमा सुनचाँदी व्यवसायीमाथि गोली प्रहार

पश्चिम नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–४ मा एक जना सुनचाँदी व्यवसायीमाथि गोली प्रहार गरेर लुटपाटको प्रयास भएको छ ।

सुस्ता गाउँपालिका–१, बरुवमा रहेको पसल बन्द गरेर घर फर्किँदा बर्दघाट नगरपालिका–१६, ककुरमारा नजिकै सुनचाँदी व्यवसायी ६२ वर्षीय गजेन्द्र विश्वकर्मामाथि गोली प्रहार भएको हो ।

जिल्ला प्रहरी कार्यालय, पश्चिम नवलपरासीका अनुसार, एक राउण्ड गोली उहाँको पाखुरामा लागेको छ । अहिले उहाँको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार, अज्ञात व्यक्तिले पेस्तोल र खुर्पा जस्तो धारिलो हतियार देखाएर स्कुटर छाड्न भनेको थियो । छोरासहित स्कुटरमा रहेका विश्वकर्माले नछाडेपछि एक राउण्ड फायर गरेको पाइएको प्रहरीले जनाएको छ ।

गोली हानेपछि स्कुटर लिएर उनीहरु भागेका थिए । लु ७८प ७४३५ नम्बरको स्कुटर घटनास्थलभन्दा चार किलोमिटरको दूरीमा वडा नं १४ मा फेला परेको छ ।

स्कुटरमा सुन रहेको आशंकामा उनीहरुले लुटपाट गरेको हुनसक्ने प्रारम्भिक अनुमान छ ।