फिफा विश्वकप २०२६ को उद्घाटन खेल मेक्सिकोमा र फाइनल खेल अमेरिकामा हुने

काठमाडौं । सन् २०२६ मा आयोजना हुने फिफा विश्वकप फुटबलको उद्घाटन खेल मेक्सिकोमा र फाइनल खेल अमेरिकामा हुने भएको छ ।

फिफाले सार्वजनिक गरेको खेल तालिका अनुसार ११ जुनमा मेक्सिकोको अज्टेका स्टेडियममा उद्घाटन खेल हुनेछ । यस्तै फाइनल खेल १९ जुलाइमा अमेरिकाको न्यु जर्सीस्थित मेटलाइफ स्टेडियमा हुनेछ । उद्घाटन खेलमा मेक्सिकोले खेल्नेछ ।

अहिलेसम्मकै सबैभन्दा ठूलो विश्वकपको रुपमा २०२६ को विश्वकपमा पहिलो पटक ४८ टोलीले प्रतिस्पर्धा गर्दैछन् । उत्तर अमेरिकाको अमेरिका, मेक्सिको र क्यानडामा ३९ दिन चल्ने विश्वकपमा कूल १०४ खेल हुनेछ ।

पहिलोपटक विश्वकपको आयोजक बनेको क्यानडाले आफ्नो पहिलो खेल १२ जुनमा टोरोन्टोमा खेल्नेछ । यस्तै अमेरिकाले पनि १२ जुनमै लस एन्जलसमा आफ्नो पहिलो खेल खेल्नेछ ।

२०२२ को कतार विश्वकप भन्दा १० दिन बढी चल्ने २०२६ को विश्वकपमा तीन देशका १६ शहरमा हुनेछ ।

फिफा आइतबार २०२६ को विश्वकपको खेल आयोजना स्थल बारे सार्वजनिक गरेको हो ।

जसमा क्वाटरफायनलका खेलहरु अमेरिकाको लस एन्जलस, कान्सास सिटी, मायमी र बोस्टनमा हुनेछ । यस्तै सेमिफाइनलका खेलहरु डल्लास र एटलान्टामा हुनेछ भने तेस्रो स्थानको लागि खेल मायामीमा हुनेछ । डल्लासले सबैभन्दा धेरै ९ खेल आयोजना गर्ने फिफाले जनाएको छ ।

यस विश्वकपको ड्र भने २०२५ को अन्तिममा सार्वजनिक गर्ने फिफाले जनाएको छ ।