काठमाडौँ । नुवाकोट तारकेश्वर स्थायी निवासी ६ वर्षीय बालक विश्वास अधिकारीले विश्वका सबै देशका झन्डा र ती देशमा रहेका टापुहरू चिन्न सक्ने उहाँको परिवारले दाबी गरेको छ ।
आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी उहाँको प्रतिभाबारे जानकारी गराइएको हो । विश्वासकी आमा कल्पना थापा (अधिकारी)ले परिवारको कुनै सहयोगबिनानै आफैँ ती देशहरूको झन्डा र टापुहरू चिनेको बताउनु भयो ।
अब आफूहरूको लक्ष्य विश्वासको प्रतिभाको सम्मान स्वरूप ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’ मा नाम लेखाउन पहल गर्ने रहेको उहाँले बताउनु भयो ।
‘हाम्रो लक्ष्य भनेको बाबुको नाम ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’ मा लेखाउने नै हो । सानै उमेरमा यतिधेरै प्रतिभा भएकाले भोलिका दिनमा केही सपोर्ट हुन्छ कि भनेर नै हामी लागिपरेका छौं,’ उहाँले भन्नुभयो ।
विश्वास जोरपाटीस्थित एक स्कुलमा युकेजीमा पढ्नु हुन्छ । कार्यक्रमकै क्रममा पनि उहाँलाई विभिन्न देशका झन्डाहरू देखाइएको थियो । उहाँले ती झन्डाहरू सहजै चिन्नु भएको थियो ।
विश्वासकी आमा कल्पनाले ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’ का लागि सहयोग गरिदिन अपिल गर्नु भएको छ ।
खबर बजार । २८ माघ २०८०, आईतवार १६:४८