यू–१९ विश्वकप क्रिकेट: उपाधि जित्न अस्ट्रेलियाले भारतलाई २५४ रनको लक्ष्य

काठमाण्डौ । आइसिसी यू–१९ विश्वकपको उपाधि जित्न अस्ट्रेलियाले भारतलाई २५४ रनको लक्ष्य दिएको छ ।

दक्षिण अफ्रिकाको बेनोनीमा आइतबार टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले ७ विकेटको क्षतिमा २५३ रन जोड्यो ।

अस्ट्रेलियाका लागि हर्जस सिंहले ५५ रनको योगदान गरे । उनले ६४ बलमा ३ चौका र ३ छक्का प्रहार गरे ।

ओपनर ह्यारी डिक्सनले ४२ रन र कप्तान ह्युज वेइबगेनले ४८ रन बनाए । यस्तै ओलिभर पिकले नटआउट ४६ रनको योगदान गरे ।

बलिङमा भारतका राज लिम्बानीले ३ विकेट लिए भने नमन तिवारीले २ विकेट हात पारे ।

अघिल्लो संस्करणको विजेता भारतले अहिलेसम्म पाँच उपाधि जितेको छ । अस्ट्रेलिया भने तीन पटक च्याम्पियन बनेको छ। अस्ट्रेलियाले सन् २०१० पछि उपाधि जित्न सकेको छैन ।