फास्ट ट्र्याकबाट संविधान ल्याइनु गलत :उपेन्द्र यादव

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले फास्ट ट्र्याकबाट संविधान ल्याइनु गलत भएको बताउनु भएको छ । उहांले दुनियाँमा कहीँ पनि फास्ट ट्र्याकबाट संविधान नबन्ने गरेको बताउनु भयो ।

’दुनियाँमा कहीँ पनि फास्ट ट्र्याकबाट संविधान आउँदैन। संविधान आउनुअघि धेरै विषयमा बृहत् छलफल हुनुपर्थ्यो, त्यो भएन,’ उहांले भन्नु भयो ।

उहांले संविधानमै कुनै पनि नागरिकलाई राज्यविहीन बनाउनु हुँदैन भन्ने उल्लेख भए पनि नेपालमा अनागरिक बनाउने काम भइरहेको बताउनु भयो । ’संविधानले नै नागरिकलाई राज्यविहीन बनाइनु हुँदैन भन्ने उल्लेख छ। नागरिकता विधेयक के भइरहेको छ? नागरिकलाई अनागरिक बनाउनुजस्तो ठूलो अपराध केही हुँदैन,’ उहांले भन्नु भयो ।

उहांले केपी ओली नेतृत्वकै सरकारले ल्याएको अध्यादेशलाई एक अक्षर नचलाई संसदबाट पारित भइसक्दा पनि राष्ट्रपतिले प्रमाणित नगर्नु दु:खद भएको बताउनु भयो । ’दुई दुई पटक संसदले पारित गरिसकेको नागरिकता विधेयक स्वत: कानुनको रुप लिइसक्नुपर्ने हो। तर त्यस्तो भएको छैन। त्यो एकदम गलत कार्य भइरहेको अनुभूत भइरहेको छ,’ उहांले बताउनु भयो ।

उहांले विभिन्न कालखण्डमा भएका राजनीतिक आन्दोलनका बन्दीहरुलाई तत्काल रिहाइ गर्न सरकारसँग माग गर्नु भयो ।

उनले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नसमेत माग गरे। ’थरुहट, मधेस आन्दोलनका बेला लाल आयोग गठन भएको थियो। लाल आयोगले प्रतिवेदनसमेत तयार पार्‍यो। तर त्यो प्रतिवेदन अहिलेसम्म सार्वजनिक हुन सकेको छैन। किन के कारणले सार्वजनिक भएन?,’ यादवले प्रश्न गरे।