
काठमाडौं । सङ्घीय संसद्को संयुक्त बैठकमा आज आर्थिक वर्ष २०८३/०८४ को लागि बजेट प्रस्तुत हुने भएको छ । नेपालको संविधानमा जेठ १५ गते बजेट प्रस्तुत गर्ने भनी गरिएको व्यवस्थाअनुसार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट प्रस्तुत गर्नुहुने भएको हो ।

आगामी आर्थिक वर्ष ०८३/८४ का लागि २१ खर्ब रुपैयाँ आसपासको बजेट प्रस्तुत गर्ने तयारी छ । आज अपराह्न ४ बजे संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरिने कार्यक्रम छ ।
राष्ट्रिय स्रोत अनुमान समितिले आगामी आर्थिक वर्षका लागि करिब १८ खर्ब ९० अर्ब रुपैयाँको बजेट सिलिङ निर्धारण गरेको भए पनि सांसदहरूको उच्च कार्यक्रम माग तथा अनिवार्य दायित्वका कारण बजेटको आकार करिब दुई खर्बले बढाइएको अर्थ मन्त्रालय प्रशासन स्रोतले जनाएको छ ।
सरकारले सुधार, लगानी प्रवर्द्धन, पूर्वाधार विकास, डिजिटल प्रविधि, उत्पादन र रोजगारीलाई प्राथमिकतामा राख्दै विस्तारकारी बजेट ल्याउने तयारी गरेको छ ।
गत फागुनमा राष्ट्रिय स्रोत अनुमान समितिले चालूतर्फ सात खर्ब ५५ अर्ब, वित्तीय हस्तान्तरणतर्फ चार खर्ब १९ अर्ब, पुँजीगततर्फ तीन खर्ब ६७ अर्ब तथा ऋणको साँवा–ब्याज भुक्तानीतर्फ तीन खर्ब ४८ अर्ब रुपैयाँको सीमा निर्धारण गरेको थियो ।
सरकारले अर्थतन्त्रको सुस्तता हटाउने, लगानी आकर्षित गर्ने तथा खर्च प्रणालीलाई कार्यान्वयनमुखी बनाउने उद्देश्य राखेको जनाएको छ ।




खबर बजार । १५ जेष्ठ २०८३, शुक्रबार ०८:१६