काठमाडौं । निर्वाचन आयोगले आगामी ४ जेठ २०७९ मा स्थानीय तहको निर्वाचन गर्न सरकारलाई सिफारिश गरेको छ ।
आयोगका पदाधिकारीहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर स्थानीय निर्वाचनको मिति सिफारिश गरेका हुन् ।
स्थानीय जनप्रतिनिधिको कार्यकाल २०७९ जेठ ५ मा सकिनेछ ।
आयोगले यसअघि एकै चरणमा गर्ने भए वैशाख १४ र दुई चरणमा गर्ने भए वैशाख १४ र २२ गर्न प्रस्ताव गरेको थियो । तर सत्तारुढ पाँचदलीय गठबन्धनले संविधानसँग स्थानीय तह निर्वाचन ऐन बाझिएको भन्दै आयोगले प्रस्ताव गरेको समयमा निर्वाचन गर्न चाहेन ।
२०७९ फागुनमा तीनै तहको निर्वाचन गर्ने गठबन्धनको तयारी थियो । प्रतिपक्षी नेकपा (एमाले) लगायत संवैधानिक कानुनका जानकारहरूले समेत चौतर्फी दबाव दिएपछि गठबन्धनमा आवद्ध दलहरु जेठ तेस्रो वा चौथो साता स्थानीय तहको निर्वाचन गर्न सहमत भएका छन् । तर स्थानीय तह निर्वाचन ऐन, २०७३ मा रहेको जनप्रतिनिधिको कार्यकाल सम्बन्धी व्यवस्था संविधानसँग बाझिएकाले संशोधन गर्ने अडानमा छ ।
निर्वाचन आयोगले भने संविधान र ऐन नबाझिएको बताएको छ । स्थानीय जनप्रतिनिधिको कार्यकाल समाप्त हुनु अगावै अर्को निर्वाचन गर्नुपर्छ भन्नु कानूनी त्रुटि नभई स्थानीय तहका पदाधिकारीहरुको अविच्छिन्नता कायम गर्न संविधान र कानूनले निर्देश गरेको उपयुक्त व्यवस्था भएको आयोगले बताएको छ ।
खबर बजार । १८ माघ २०७८, मंगलवार १४:२३