सबै प्रदेशले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै

काठमाडौं । सातवटै प्रदेश सरकारले आज आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट सार्वजनिक गर्दै छन् ।

फाइल तस्बिर : कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री राजिवविक्रम शाहले आ.व. २०८२/८३ को बजेट प्रदेश सभामा प्रस्तुत गर्नुहुँदै । 

आज बस्ने सम्बन्धित प्रदेश सभा बैठकहरूमा आर्थिक मामिला तथा योजना मन्त्रीहरूले नयाँ आर्थिक वर्षका लागि आयव्ययको विवरण प्रस्तुत गर्न लागेका हुन् ।

संवैधानिक तथा कानुनी व्यवस्था अनुसार प्रत्येक वर्षको असार १ गतेभित्रै प्रदेश सरकारहरूले आफ्नो वार्षिक बजेट ल्याउनुपर्ने अनिवार्य प्रावधान छ । सोही नियमलाई पछ्याउँदै आज सातै वटा प्रदेशले बजेट ल्याउन लागेका हुन् ।

यसअघि नै सबै प्रदेश सरकारहरूको नीति तथा कार्यक्रम प्रदेश सभाबाट पारित भइसकेकाले आज बजेट प्रस्तुत गर्ने बाटो खुलेको हो ।

विभिन्न प्रदेश सभाहरूले तय गरेको कार्यतालिका अनुसार सबैभन्दा पहिले मधेश प्रदेशले दिउँसो १ बजे बजेट प्रस्तुत गर्नेछ । त्यसैगरी, कर्णाली प्रदेशले दिउँसो ३ बजे बजेट ल्याउने तयारी गरेको छ ।

कोशी, बागमती र गण्डकी प्रदेशले अपरान्ह ४ बजे आ-आफ्नो प्रदेश सभामा बजेट प्रस्तुत गर्ने कार्यतालिका बनाएका छन् ।

सबैभन्दा ढिलो बजेट ल्याउने सूचीमा रहेका लुम्बिनी र सुदूरपश्चिम प्रदेशले भने साँझ ५ बजे मात्र बजेट प्रस्तुत गर्ने गरी आन्तरिक तयारी पूरा गरेका छन् ।