बग्यो रोशी खोलाको ‘डाइभर्सन’, विपी राजमार्ग अवरुद्ध

काभ्रे । वर्षाका कारण बिपी राजमार्गअन्तर्गत काभ्रेको नमोबुद्धस्थित कटुञ्जेदेखि रोशीको मङ्गलटार सडकखण्ड आज बिहानदेखि अवरुद्ध भएको छ ।

कटुञ्जे–मङ्गलटार सडकखण्डको विभिन्न स्थानमा ‘डाइभर्सन’ बगाएका कारण सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । डाइभर्सन मर्मत सुरु गरिए पनि आवागमन सुचारु गर्न केही समय लाग्ने कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रविन विष्टले जानकारी दिनुभयो ।

उहाँका अनुसार वर्षाका कारण रोशी खोलामा पानीको बहाव बढेपछि राजमार्गमा यसअघि निर्माण गरिएको अस्थायी डाइभर्सन बगाएको हो ।

गत सालको बाढीपहिरोले रागमार्गको रोशी तथा सिन्धुलीको नेपालथोक क्षेत्रमा १८ किमी सडक बगाएपछि डाइभर्सन निर्माण गरी आवागमन भइरहेको थियो । यस्तै गत चैत तेस्रो साता पनि सोही क्षेत्रको विभिन्न स्थानको चार किमी बगाएपछि पुनः अस्थायी डाइभर्सन निर्माण गरिएको थियो ।