भोलि साँझदेखि पानी पर्ने सम्भावना, गर्मीबाट राहत पुग्ने अपेक्षा 

काठमाडौं । भोली साँझदेखि देशका धेरैजसो ठाउँमा पानी पर्ने सम्भावना रहेको छ । भोलि बिहीबार बेलुकादेखि नै हल्कादेखि मध्यम वर्षाको क्रम शुरु हुने र पर्सि शुक्रबार राति यो क्रम अझ बढ्ने मौसमविद्को अनुमान छ ।

लुम्बिनी र सुदूरपश्चिमको तराईका क्षेत्रमा पनि शुक्रबार पानी पर्ने सम्भावना रहेको छ । अत्यधिक गर्मीले लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा जनजीवन प्रभावित बनेको छ ।

कोशी, मधेश, बागमती र गण्डकी क्षेत्रमा पानी परिरहे पनि पश्चिममा मौसम सुक्खा हुँदा अधिकतम र न्यूनतम तापक्रम उच्च छ । पानी परेमा ती क्षेत्रमा पनि राहत पुग्नेछ ।

मौसम पूर्वानुमान महाशाखाको तीन दिनको पूर्वानुमान अनुसार भोलि दिउँसो कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भागका केही ठाउँ, मधेश प्रदेशलगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम  प्रदेशको हिमाली र पहाडी भागका थोरै ठाउँ तथा बागमती र गण्डकी प्रदेशका तराई भागका एक/दुई ठाउँमा मेघ गर्जन/चट्याङ्गसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।

भोलि राती देशभर साधारणतया बादल लाग्नेछ । बागमती, गण्डकी, लुम्बिनी प्रदेशका केही ठाउँमा तथा कोशी, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा मेघ गर्जन/चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । त्यस्तै सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका तराई र पहाडी भाग तथा बाँकी तराई भागका थोरै ठाउँमा हावाहुरीको पनि सम्भावना छ ।

पर्सि दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा तथा कोशी र बागमती प्रदेशको हिमाली र पहाडी भागका थोरै ठाउँमा र मधेश प्रदेशलगायत कोशी र बागमती प्रदेशका तराई भागका एक/दुई ठाउँमा मेघ गर्जन/चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

सुदूरपश्चिम कर्णाली र लुम्बिनी प्रदेशका तराई र पहाडी भागका थोरै ठाउँमा हावाहुरीको पनि सम्भावना छ ।