

सुर्खेत । एसओएस हर्मन माइनर विद्यालय वीरेन्द्रनगर—४ ले विद्यार्थीहरुलाई स्वस्थवद्र्धक खाजा उपलव्धताका लागि क्यान्टिन स्थापना गर्न लागेको छ । कर्णाली प्रदेश सरकारको करिव ५० लाखको लागतमा सो क्यान्टिन निर्माण हुन लागेको हो ।
बुधवार वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख निलकण्ठ खनालले क्यान्टिनको शिलान्यास गर्नुभएकाे छ।
सो अवसरमा उहाँले विद्यार्थीहरुको स्वास्थ्यलाई ख्याल गर्दै विद्यालयले आफ्नै क्यान्टिन निर्माण गरी स्वस्थ खाजा खुवाउने व्यवस्था मिलाउन लागेकोमा धन्यवाद दिनुभयाे । उहाँले विद्यालयलाई गुणस्तरीय शिक्षामा पनि प्रतिवद्ध रहन सुझाव दिनुभयाे ।
विद्यालयका पूर्व विद्यार्थी डा. नवराज केसीले स्वस्थ विद्यार्थीको आहारमा ध्यान दिन जरुरी रहेको बताउनुभयाे । उहाँले विद्यार्थीलाई शिक्षाका साथै अतिरिक्त क्रियाकलापमा पनि संलग्न गराउन आग्रह गर्नुभयाे ।
विद्यालयका प्राचार्य हरिहर बस्नेतले प्रदेश सरकारको ५० लाखको लागतमा विद्यालय व्यवस्थापन समितिले क्यान्टिन बनाउन लागेको जानकारी दिनुभयाे । उहाँले आगामी असार महिनाभित्र क्यान्टिन निर्माण हुने जनाउनुभयाे । क्यान्टिन निर्माण भएमा १३० जना विद्यार्थीहरु एकै पटकमा खाजा खान सक्ने उल्लेख गर्नुभयाे । विद्यालय व्यवस्थापन समितिका सदस्य प्रकाश पन्तले तोकिएको समयभित्रै जिम्मेवारी पूरा गरिने प्रतिवद्धता जनाउनुभयाे । शिलान्यास कार्यक्रममा पूर्व विद्यार्थी समाजका दिव्यराज खड्का, एसओएस बालग्रामका नायव निर्देशक सुशीलमणि ज्ञवाली, वीरेन्द्रनगर नगरपालिका वडा नं. ४ का वडाअध्यक्ष शेरबहादुर केसी, समाजसेवी शम्भू पन्तलगायतको उपस्थिति थियो ।

सृजना बुढाथोकी । १८ जेष्ठ २०७९, बुधबार १६:०३