
रसुवा । भोटेकोसी नदी रसुवामा तिब्बत तर्फबाट ठुलो बाढी प्रवेश गरेपछि ठूलो जनधनको क्षति गरेको छ ।

तिब्बततर्फ माथिल्लो क्षेत्रमा हिमताल फुटेपछि आएको बाढीका कारण भोटेकोसी नदीमा एक्कासि जलसतह बढेको आशङ्का गरिएको छ ।
बाढीले रसुवाका विभिन्न क्षेत्रमा ठुलो क्षति पुर्याएको छ भने त्रिशूली नदी आसपासका बस्तीमा समेत जोखिम बढेको छ ।
रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारका अनुसार बाढी आएको समयमा जिल्लाको सदरमुकाम क्षेत्रमा वर्षा भएको थिएन । त्यसैले बाढी माथिल्लो क्षेत्रमा भएको कुनै प्राकृतिक घटनाका कारण आएको हुन सक्ने अनुमान गरिएको छ । प्रारम्भिक रूपमा तिब्बत क्षेत्रमा हिमताल फुटेको हुन सक्ने आशङ्का गरिएको हो ।
तिब्बत तर्फबाट ठुलो बाढी प्रवेश गरेकोले अर्को सूचना नआउँदासम्म त्रिशूली नदीको तटीय क्षेत्र मुग्लिनसम्म उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
भोटेकोसीमा आएको बाढीले बस्ती नै बगाउँदा बैंक तथा वित्तीय संस्थाको शाखा कार्यालयहरू पनि बगाएको छ ।
नेपाल बैंकर्स संघका अनुसार धेरै बैकका शाखाहरूमा क्षति पुगेको छ । तर फोन सम्पर्क नहुँदा यकिन विवरण सङ्कलनमा समस्या भएको छ ।
बैँकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले बाढी आएको थाहा भएसँगै बिहान बैंकर्स संघको आकस्मिक बैठक बसेर सबै विवरण सङ्कलन र उद्धारको विषयमा छलफल भएको बताउनुभयो ।
उहाँका अनुसार बैठकले उद्धारका लागि सम्बन्धित निकायमा अनुरोध गर्ने निर्णय गरेको छ ।




खबर बजार । १० भाद्र २०८३, बुधबार १२:५०