डीआईजी सिंहद्वारा पदबाट राजीनामा

काठमाण्डौ । प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले आज बुधवार आफ्नो पदबाट राजीनामा दिनुभएको छ ।

सिंहले आज प्रहरी प्रधान कार्यालयमा राजीनामा बुझाउनुभएको केन्द्रीय प्रहरी प्रवक्ता पोषराज पोखरेलले जानकारी दिनुभयो । उहाँ अहिले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको प्रमुखका रूपमा कार्यरत हुनुहुन्छ ।

सिंहको जन्म मितिको विवादित विषय भर्खरै सार्वजनिक भएको छ । त्यस विषयमाथि छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । त्यही विषयमा उहाँले राजीनामा दिएको अनुमान गरिए पनि यकिन कारण भने खुलेको छैन ।

प्रहरी प्रवक्ता पोखरेलले घरायसी कारण उल्लेख गरेर सिंहले राजीनामा दिएको उल्लेख रहेको बताउनुभयो । प्रहरीले राजीनामा स्वीकृतिका लागि गृह मन्त्रालयमा पठाउने तयारी गरेको छ ।