वीरेन्द्रनगरको पहिलो बैठकः सडक र जग्गा वीरेन्द्रनगरको प्राथमिकतामा

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका सडक सुधारतर्फ आफुलाई केन्द्रित गरेको । स्थानीय निर्वाचन पश्चात आएका जनप्रतिनिधिले नगरमा सडक तथा यससँग जोडिएका विषयलाई पहिलो प्राथमिकतामा राखेका हुन् । नागरिकको दैनिकीसँग प्रत्येक्ष सम्बन्ध राख्ने भएकाले पनि नवनिर्वाचित जनप्रतिनिधिले सडकलाई मुल प्राथमिकताका विषयमा राखेका छन् ।

त्यसै अनुरुप नगरको पहिलो कार्यपालिका बैठकले वीरेन्द्रनगरको सडकको विषयलाई लिएर विभिन्न निर्णयहरु समेत गरेको छ । सडक मर्मत तथा सुधार, ढल निकासको व्यवस्थान, सरसफाई, सडक अतिक्रमण निरुत्साहनलगायतका क्षेत्रमा नगरपालिका अघि बढेको हो ।

गत सोमबार बसेको नगरको पहिलो कार्यपालिका वैठकले वीरेन्द्रनगरका सडकमा विषयमा ढल तथा नालाहरुको मर्मत, जीर्ण र खाल्टा परेका सडकहरुको मर्मत, सडक अतिक्रण विषयलाई निरुत्साहन, सडकको अधिकार क्षेत्र तथा सडकमा रहेका फोहोरमैला व्यवस्थापनका विषयमा विभिन्न निर्णय गरेको वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया भण्डारीले जानकारी दिनुभयो ।


सडकको ढल तथा नालाहरुको मर्मत सम्वन्धमा नगरले प्रभानमन्त्री रोजगार कार्यक्रम र विपद् व्यवस्थापन कोषबाट मर्मत सम्भारको व्यवस्था मिलाउने निर्णय गरिएको छ । ‘नगरपालिकाको राजमार्ग क्षेत्रमा विविध कारणले बुझिएका ढलहरु पूर्ववत् रुपमा सञ्चालनमा ल्याई जनधनको क्षति न्यूनिकरण गर्न प्रधानमन्त्री रोजगार कार्यक्रम र विपद् व्यवस्थापन कोषबाट तुरुन्त मर्मत सम्भार गर्ने व्यवस्था मिलाउने’ निर्णय कार्यपालिकाको बैठकले गरेको हो ।

यसका साथै वीरेन्द्रनगर–१२ को तिनकुने चोक, वडा नं। १३ लगायतका पहाडी क्षेत्रलगायत नगरका अन्य क्षेत्रहरु मध्ये जटिल प्रकृतिको डुवान भएका क्षेत्र पहिचान गरी जनप्रतिनिधि र प्राविधिकसहित खटेको टोलीको प्रतिवेदनका आधारमा दीर्घकालिन समस्या समाधानका लागि बजेट तथा स्रोतको व्यवस्थापन गर्ने निर्णय गरिएको छ ।

मुख्य बजार क्षेत्रलाई लक्षित गर्दै सडक बोर्ड नेपालमार्फत नगरलाई प्राप्त बजेटबाट रकम खर्च गर्नेगरी मर्मत कार्य अघि बढाउने योजना नगरले अघि सारेको छ । यसका लागि बजेट रकम अपुग भएमा अन्य स्रोतबाट समेत बजेटको व्यवस्थापन गर्ने कार्यपालिकाको निर्णय छ । आसन्न मनसुनलाई ध्यानमा राख्दै नगरले मनसुन पूर्वनै प्राविधिकको टोली खटाई टोलीको प्रतिवेदनका आधारमा मर्मत सम्भार गर्ने र नगरका अन्य स्थानका सडकलाई समेत प्राथमिकतामा राख्ने निर्णय गरिएको नगर प्रमुख भण्डारीले जानकारी दिनुभयो ।

यसका साथै नगरपालिकाको गुरुयोजनामा समावेश भएका सार्वजनिक सडकको अधिकार क्षेत्र को लगत कट्टा गरी शहरी नापी प्रक्रियालाई पनि अघि बढाउने समेत निर्णय भएको छ । सडक अतिक्रमण गरी राखिएका निर्माण सामाग्री सन्र्दभमा सडक सुरक्षालाई ध्यानमा राखी नगरपालिकाले स्विकृती नलिई अतिक्रमण गरी राखिएका निर्माण सामाग्री तुरुन्त हटाउन सूचना जारी गर्ने र अवज्ञा गर्ने व्यक्तिलाई स्थानीय प्रशासनको सहायतामा कानूनी दायरामा समेत ल्याउने चेतावनी दिएको छ ।

नगरमा रहेका सार्वजनिक जग्गाको लगत लिई सोको उचित संरक्षण र सार्वजनिक गर्ने योजनामा नगरपालिका छ । नगरपालिका क्षेत्रमा रहेका परम्परागत कुलो, नहर, बाटो र सार्वजनिक क्षेत्र पहिचान गरी अतिक्रमण रोक्ने नगरपालिकाको योजना छ ।

सुर्खेत उपत्यका नगर विकास समितिलगायत अन्य सार्वजनिक जग्गाको खोजविन गर्ने, लगत लिने र सोको हालको अवस्थाका बारेमा सूचना लिने नगर कार्यपालिकाको पहिलो वैठकले निर्णय गरेको छ । नगर विकास समिति सुर्खेतबाट नेपाल स्काउटले प्राप्त गरी कार्यालय सञ्चालन गरेको जग्गामा नगरको प्रमुख प्रशासकिय भवन निर्माण गर्ने कार्यपालिकाको वैठकले निर्णय गरेको छ । यसका लागि स्काउटलाई वीरेन्द्रनगर–७ स्थित सोही बराबरको जग्गा व्यवस्थापन गर्ने निर्णय गरिएको छ ।

नगरपालिकाको राजमार्ग क्षेत्रमा विविध कारणले बुझिएका ढलहरु पूर्ववत् रुपमा सञ्चालनमा ल्याई जनधनकोे क्षति न्यूनिकरण गर्न प्रधानमन्त्री रोजगार कार्यक्रम र विपद् व्यवस्थापन कोषबाट तुरुन्त मर्मत संम्भार गर्ने व्यवस्था मिलाउने निर्णय भएको छ ।