कर्णालीमा पहिलोपटक उत्पादन भएको विजुली राष्ट्रिय प्रसारण लाइनमा

सुर्खेत । कर्णालीमा पहिलोपटक उत्पादन भएको विजुली राष्ट्रिय प्रशारण लाईनमा जोडिएको छ । दैलेख नौमुले गाउँपालिकामा निर्माण भएका दुईवटा जलविद्युत् आयोजनाबाट ८ दशमलव २५ मेघावाट विद्युत राष्ट्रिय प्रशारण लाईनमा जडान गरिएको हो ।
यो सँगै अब दैलेख पूर्ण रुपमा लोडसेडिङ्ग मुक्त जिल्ला बन्ने भएको छ । दैलेखबाट उत्पादित विद्युत राष्ट्रिय प्रशारण लाईनमा जडान कर्णाली प्रदेशकै पहिलो हो । विद्युत उत्पादन सफल परीक्षण भएको छ ।
नौमुले गाउँपालिका–३ द्वारीमा निर्माण भएको ३ दशमलव ७५ मेगावाट क्षमताको द्वारी जलविद्युत् आयोजना र सोही गाउँपालिकाको वडा नं. ४ मा निर्माण भएको ४ दशमलव ५ मेगावाट क्षमताको पदमखोला जलविद्युत् आयोजनाको सफल परीक्षण भएको हो ।
नेपाल विद्युत् प्राधिकरण दैलेख केन्द्र दैलेखका प्रमुख गौरव पाण्डेले कोहलपुर–सुर्खेत लाइन अवरुद्ध हुँदा दैलेखमा समेत विद्युत् अवरुद्ध हुने समस्या अब समाधान भएको बताउनुभयो ।
उहाँका अनूसार अहिले पावरहाउस निर्माण गरेको भारतीय कम्पनीबाट इन्जिनियरले आइसोलेसन मोड सञ्चालन गर्ने काम सुरु गरिएको छ । अब विद्युत् नियमित हुनेछ । माघ १५ गतेभित्र दैलेख सदरमुकाम पूर्ण लोडसेडिङमुक्त हुनेछ ।