अर्थतन्त्र टाट पल्टिने अवस्थामा पुगेपछि सरकारी खर्च घटाउदै पाकिस्तान

काठमाण्डौं । पाकिस्तानको अर्थतन्त्र टाट पल्टिने अवस्थामा पुगेपछि त्यहाँको सरकारले सरकारी खर्च ठूलो मात्रामा घटाउन थालेको छ । पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरिफले पत्रकार सम्मेलनमार्फत सरकारी खर्चमा कटौती गर्ने घोषणा गर्नुभएको हो । उहाँले आफू र आफ्ना मन्त्रीहरू कसैले पनि तलबलगायत कुनै पनि सुविधा नलिने बताउनुभयो ।

प्रधानमन्त्री शरिफले सबै केन्द्रीय मन्त्रीहरूलाई बिजुली, पानी, ग्यास र टेलिफोनको बिल आफ्नो निजी खर्चबाट तिर्नका लागि अपिलसमेत गर्नुभएको छ । यस्तै उहाँले मन्त्रीहरूसँग रहेका विलासी गाडीहरूको लिलामी गर्ने, सर्वोच्च अदालत, उच्च अदालत र कर्मचारीतन्त्रमा पनि खर्च कटौतीका लागि अपिल गर्नुभयो ।

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को सर्तहरू पूरा गर्न सरकारी खर्चमा ठूलो कटौती गर्न लागिएको शरिफको भनाइ छ । केही दिनअघि पाकिस्तानका रक्षा मन्त्री ख्वाजा मोहम्मद आसिफले पाकिस्तान अहिले नै टाट पल्टिसकेको बताउनुभएको थियो । पाकिस्तानमा अहिले विदेशी मुद्रा सञ्चिति तीन अर्ब अमेरिकी डलरमात्रै रहेको छ ।