
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले उचित विकल्पबिना सरकारले सुकुमबासीलाई जबर्जस्ती उठीबास लगाएको भन्दै विरोध जनाएको छ ।
पार्टीले एक प्रेस विज्ञप्ति जारी गर्दै सुकुमबासी व्यवस्थापन, बढ्दो महङ्गी र लोकतान्त्रिक अधिकारको रक्षाका विषयमा सरकारको ध्यानाकर्षण गराएको हो ।
सुकुमबासी परिवारलाई जीविकोपार्जनको कुनै विकल्प नदिई अमानवीय ढंगले घर भत्काएको भन्दै यस्ता कार्यले सीमान्तकृत समुदायको राज्यप्रतिको जनविश्वास कमजोर बनाउने नेकपाले जनाएको छ ।
नयाँ सरकार गठनसँगै महँगी र कालोबजारी बढेको भन्दै नेकपाले तत्काल नियन्त्रण गर्न आग्रह गरेको छ । ताजा जनादेशबाट गठित सरकारले जनअपेक्षा अनुसार सुशासन र समृद्धिका क्षेत्रमा काम गर्नुपर्नेमा उल्टो आर्थिक भार थपिएको नेकपाको दावी छ ।
विद्यार्थी संगठनहरूमाथि प्रतिबन्ध लगाउने निर्णयमा पनि नेकपाले विरोध जनाएको छ । पञ्चायतकालमा समेत संगठित हुने अधिकार रहेको स्मरण गराउँदै संघीय लोकतान्त्रिक गणतन्त्रमा संविधानविरोधी यस्ता गतिविधि स्वीकार्य नहुने विज्ञप्तिमा चेतावनी दिइएको छ । ट्रेड युनियनमाथि प्रतिबन्ध लगाउने प्रयास भइरहेको भन्दै नेकपाले चिन्ता जनाएको छ ।

सरकारले अघि सारेका सकारात्मक प्रतिबद्धतालाई स्वागत गर्ने भन्दै नेकपाले पूर्वाग्रही र एकपक्षीय दृष्टिकोणको विरोध गर्ने भनेको छ ।




खबर बजार । ६ बैशाख २०८३, आईतवार १५:००