
सोलुखुम्बु । सोलुखुम्बुको सोताङ गाउँपालिकाकी उपाध्यक्ष अन्जु नाछिरिङ राईविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपाध्यक्ष राई र उपाध्यक्षका छोरा सुनिल नाछिरिङ राईविरुद्ध आज विशेष अदालतमा आरोपपत्र दायर गरेको हो ।
उनीहरूमाथि आर्थिक वर्ष २०८०/०८१ मा सञ्चालन भएको ढाका सिलाइ बुनाइसम्बन्धी ९० दिने तालिममा प्रशिक्षकको काम दिलाएबापत ४५ हजार रुपैयाँ घुस लिएको आरोप छ ।
उपाध्यक्ष राईले घुस रकम आफ्ना छोरा सुनिलको बैंक खाताको क्यूआर कोडमार्फत पठाउन लगाएको अख्तियारको अनुसन्धानबाट खुलेको छ ।
आमा–छोराकै मिलेमतोमा घुस लिएको र दिलाएको पुष्टि भएपछि आयोगले दुवै जनालाई ४५ हजार रुपैयाँ बिगो कायम गर्दै कैद र जरिवानाको मागदाबीसहित मुद्दा दायर गरेको हाे ।




खबर बजार । ३१ भाद्र २०८३, बुधबार १८:१२