

काठमाडौं । कम्प्युटर एशोसिएसन अफ नेपाल (क्यान) ले यस पटकको क्यान इन्फोटेक आगामी माघ १८ गतेदेखि २३ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना गर्ने भएकोे छ ।
पत्रकार सम्मेलन गरी क्यानले सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँ नयाँ प्रविधिको प्रदर्शन तथा त्यस क्षेत्रको विकासका लागि आवश्यक रणनीति निर्माण गर्न क्यान इन्फोटेकको २७औँ संस्करण गर्ने जानकारी दिएको हो ।
यो वर्षको क्यान इन्फोटेक भौतिक एवं भर्चुअल दुवै स्वरुपमा आयोजना गरिने क्यान महासङ्घले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।
प्रदर्शनीमा क्यान महासङ्घका सदस्य संस्थाका साथै विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधिसँग सम्बन्धी कम्पनीको सहभागिता रहनेछ ।
प्रदर्शनीलाई व्यवसायीले व्यापार विस्तारका साथै नयाँ नयाँ प्रविधिको प्रदर्शनी गर्ने थलोका रूपमा उपयोग गर्ने तथा अवलोकनकर्ताले एकै थलोमा सूचना तथा सञ्चार प्रविधिका नौला उपकरण अवलोकन तथा खरिद गर्न पाउने महासङ्घका महासचिव नारायण थापाले बताउनुभयो ।
प्रदर्शनी सूचना प्रविधिसम्बन्धी चासो राख्नेका लागि यस क्षेत्रमा भएका विकास तथा प्रयोगका बारेमा जानकारी लिने विशेष थलो पनि हुने आयोजकको विश्वास छ ।
क्यान इन्फोटेकमा ब्राण्डिङ, आइसिटी एक्ससरिज, गेम पार्लर, प्रडक्ट लञ्चिङ, स्टार्ट–अप, रोबोटिक्स, इमर्जिङ टेक्नोलोजि, इ–वेष्ट म्यानेजमेन्ट, वाइफाइ तथा इन्टरनेट र लर्निङ सेन्टरलगायत विभिन्न कक्ष रहनेछन् ।
इन्फोटेकमा प्रदर्शनीकर्ताले सफ्टवेयर, नेटवर्किङ र क्लाउड सोल्युशन, मोबाइल फोन तथा सोल्युशन, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स, सोलार पावर सिष्टम, इन्भर्टर, युपीएस, ल्यापटप तथा डेस्कटप कम्प्युटर, प्रिन्टर, पावर सिष्टम, कम्प्युटर एक्सेसरिज, एन्टिभाइरस सफ्टवेयर, सिसिटिभी र हार्डडिस्क, आइओटी राख्ने भएका छन् ।
त्यस्तै आर्टीफिसियल इन्टेलिजेन्ससम्बन्धी जानकारी, आइटी कलेज, बैंक, बीमा तथा लेखासम्बन्धी सफ्टवेयर, सरकारी क्षेत्रमा प्रयोगमा आएका तथा आउने सफ्टवेयर , स्वास्थ्य, पर्यटन र कृषिमा सूचना प्रविधि, सेल्फ लर्निङ सफट्वेयर तथा ट्युटोरियल आदि प्रदर्शनीमा रहनेछन् ।

खबर बजार । १८ पुष २०७८, आईतवार १५:४२