आँखा रसाए, ‘हिजो दुःख भोगेर–आज विकास देखेर’ (भिडिओ)

सुर्खेत । सिम्तालीका यी आँखाहरु नै हुन्, जसले सात दसकभन्दा लामो समयदेखि सिम्ताका नागरिकका दुःख, पीर, व्याथा देखे । आज यिनै आँखा रसाइरहेका छन्, विगतलाई सम्झेर । कुनै बेला उहाँले देख्दा देख्दै स्थानीय नागरिक खानेपानी लिन जाँदा नदीमा डुबेर मर्नु परेको थियो ।

पानी । पानी जिन्दगानी हो । यो संसारका एउटाको विकल्प अर्को चिज वा वस्तु छ । छैन त केवल पानीको विकल्प । पानीको लागि आफ्नै आँखा अगाडि मुत्यूवरण देख्नुभएका अमृतबहादुर अहिले त्यतिखेर आफ्नै आगनमा धारा आउला भनेर कल्पना समेत गर्नुभएको थिएन ।

खानेपानी लिन एक दुई घण्टा हिडेर पुग्नुपर्ने, आफ्नै दिदीबहिनीसँग पनि झगडा गर्नुपर्ने, बर्खामा खोला तथा नदीको धमिलो पनि खाई रोगको सिकार हुनुपर्ने विगतको बाध्यता सुनाउनुहुन्छ, स्थानीय पानसरा विक ।

पहिलाका दुःख, पीर सम्झेर आँशु झार्ने अमृतबहादुर जस्तै नागरिकहरु अहिले खुसीले गद्गद् हुँदै खुसीका आँशु झार्दैछन् ।

शुद्धीकरण गरिएको पानी पिउनलाई मात्र हैन । अहिले घर, आँगन तथा शौचालयको सरसफाई र करेसा बारीमा समेत प्रयोग भएको छ पानी ।

भौगोलिक रुपमा शहरी क्षेत्रभन्दा विकट मानिएको सिम्ता गाउँपालिकालाई तीन/चार वर्ष पहिला विकासको गतिले खासै छुन सकेको देखिँदैनथ्यो । जब नेपालको संविधान कार्यान्वयनको क्रममा स्थानीय तहको पुनर्संरचनासँगै गाउँपालिका छुट्टै तहको सरकार बन्यो र त्यो सरकार चलाउने प्रतिनिधिलाई जनताले नै छान्न पाए । कविन्द्र कुमार केसीको नेतृत्वमा सिम्ता सरकार चल्न थाल्यो ।

समृद्ध सिम्ता सुखी सिम्ताली बनाउन सिम्ता गाउँपालिकाले पाँच वर्षका लागि लक्ष्य लियो तर तीन वटा मात्रै । पहिला त सबै नागरिकहरुले यो विषयलाई त्यति सजिलोगरी बुझ्न  सकेनन् । प्रश्न गर्थे ५ वर्षमा ३ वटा मात्रै काम ?  तर अहिले विकासले मज्जाले गति लियो, बुझाईले फड्को मार्‍यो  ।

यहाँ पानीको राम्रो स्रोत हुँदाहुँदै पनि स्रोत व्यवस्थापन गर्न नसकी नागरिकहरु नदी, खोला, मुल, कुवा आदिबाट पानी खान बाध्य रहेछन् । केहि गाउँमा सार्वजनिक धारा भएपनि प्रर्याप्त मात्रामा पानी नपाइने अवस्था थियो ।

गरे के सम्भव हुदो रहेनछ र । आफनो जीवनकालमा कल्पना समेत नगरेको सिम्ताबासिहरुको घर घरमा धारा हुँदा गाउँपालिका र खासगरी जनप्रतिनिधिको खुलेरै तारिफ गरे ।

सिम्ताको अधिकांश घरमा धारा पुर्‍याउन सिम्ता गाउँपालिका, हेल्भेटास र यूनिसेफको साझेदारीमा यो योजना अघि बढाएर सफलतामा पुगिएको हो । अहिले सिम्तामा सबैजसो नागरिकका घरमा निजी धारा छ, त्यो पनि सिधै खान मिल्ने शुद्धिकरण भइसकेको पानी आउने ।

सिम्ता गाउँपालिकाले तीनवटा लक्ष्य लिएको थियो । १ नम्वर उज्यालो सिम्ता, २ नम्वर पहुँच मार्ग र ३ नम्वर जनतासँग सिम्ता गाउँपालिका । एक घर, एक धाराको अवधारणा ‘जनतासँग सिम्ता गाउँपालिका’को लक्ष्यअन्तरगत थियो । समग्रमा भन्दा ३ लक्ष्यले नै नागरिकको जीवनस्तरमा परिर्वतनको बहार ल्याइदिएको छ ।

हेर्नुहास्, भिडिओः