सरकारद्वारा एकैसाथ ६ वटा अध्यादेश सिफारिश, के छ त नयाँ अध्यादेशमा ? 

काठमाडौं । संसद् छलेर अध्यादेशबाट देश चलाउन खोजेको भन्दै आलोचना भइरहेको बेला सरकारले ६ वटा अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिश गरेको छ ।

साँकेतिक तस्विर

एकपटक आह्वान गरिसकेको संसद् अधिवेशन स्थगित गर्न लगाएर अध्यादेशबाट देश चलाउन लागेको भन्दै सरकारको विरोध भइरहेको छ ।

वैशाख ८ गते मन्त्रिपरिषद्ले संसद् अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो र सोही सिफारिसअनुसार वैशाख ९ गते  राष्ट्रपति  ज्युले वैशाख १७ गतेका लागि संसद् अधिवेशन आह्वान गर्नुभएको थियो ।

तर, संसद् आह्वान गरिएको भोलिपल्टै वैशाख १० गते सरकारले पुनः अधिवेशन स्थगनका लागि सिफारिस गर्‍यो र विशेष कारण देखाउँदै अधिवेशन स्थगित गरियो ।

अघिल्ला सरकारले यस्तै प्रकृतिको अध्यादेश ल्याउँदा रा स्व पा लगायतका दलहरूले चर्को विरोध गरेका थिए ।

के छ त अध्यादेशभित्र ? 

१. संवैधानिक परिषद् सम्बन्धी अध्यादेश

    * संवैधानिक निकायमा नियुक्ति प्रक्रिया व्यवस्थित र पारदर्शी बनाउने ।

    * बैठक तथा सिफारिस कार्यविधि सुधार गर्ने ।

२. सहकारी ऐन संशोधन अध्यादेश

    * बचत तथा ऋण सहकारीलाई कडाइका साथ नियमन गर्ने।

    * इजाजतपत्र अनिवार्य गर्ने ।

    * समस्याग्रस्त सहकारीका साना बचतकर्तालाई रकम फिर्ता गर्न ‘चक्रय राहत कोष’ स्थापना गर्ने ।

३. विश्वविद्यालय तथा स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी अध्यादेश

    * विश्वविद्यालय/प्रतिष्ठानमा भएका राजनीतिक नियुक्ति तथा मनोनयन पुनरावलोकन गर्ने ।

    * नयाँ पदमुक्ति व्यवस्थासँग मिलाउने ।

४. केही नेपाल ऐन संशोधन अध्यादेश

    * २० वटा कानुन संशोधन गर्ने ।

    * भूमि, नापी, मालपोत, शिक्षा, वन, स्वास्थ्य, निजामती, बिमा लगायत क्षेत्रमा कानुनी अवरोध हटाउने ।

५. सार्वजनिक पदाधिकारी पदमुक्ति अध्यादेश

    * राजनीतिक रूपमा नियुक्त सार्वजनिक पदाधिकारीलाई पदमुक्त गर्ने विशेष व्यवस्था ।

६. सार्वजनिक खरिद ऐन संशोधन अध्यादेश

    * सार्वजनिक निर्माण र खरिद प्रक्रिया छिटो, प्रभावकारी र समयसापेक्ष बनाउने ।