लुम्बिनीमा सत्ता परिवर्तनको तयारी, मार्गप्रशस्त गर्न एमालेको सुझाव

रुपन्देही । केन्द्रीय सरकारमा नयाँ गठबन्धन बनाएका चार राजनीतिक दलले प्रदेशमा पनि नयाँ नेतृत्वका लागि तयारी थालेका छन् । समीकरण फेरिएसँगै कांग्रेस नेतृत्वको लुम्बिनी प्रदेश सरकार अल्पमतमा परेर संकटमा परेको छ ।

हाल लुम्बिनीमा नेपाली कांग्रेसका डिल्लीबहादुर चौधरी मुख्यमन्त्री हुनुहुन्छ । प्रदेशसभाका १० मध्ये एमाले र राप्रपाबाहेक सबै दलले उहाँलाई समर्थन जनाएका छन् । माओवादी, एमालेसहितको सरकार बन्ने अवस्थामा मुख्यमन्त्री कुन दलले पाउने भन्नेबारे छलफल हुने नेताहरू बताउँछन् ।

८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा एमालेका २९, माओवादी केन्द्रका ११ सांसद छन् । प्रष्ट बहुमतका लागि कम्तीमा ४४ सांसद चाहिन्छ । यो अवस्थामा एमाले र माओवादी केन्द्रले थप चार सांसदको समर्थन जुटाउनुपर्ने हुन्छ । यहाँ नागरिक उन्मुक्ति पार्टीका चार, जनमत, जसपा नेपाल र लोसपा नेपालका तीन/तीन सांसद छन् ।

प्रदेशसभामा नेपाली कांग्रेसको २९ सांसद छन् । यस्तै, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाको एक-एक सांसद छन् ।

यसैबीच,नेकपा एमालेले सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसलाई मार्ग प्रशस्तका लागि आग्रह गरेको छ । एमाले संसदीय दलका नेता लीला गिरीले केन्द्रमा दलीय समीकरण फेरिएको र प्रदेशमा पनि त्यो समीकरणअनुसार सरकार फेरबदल हुने भएकाले त्यसखालको आग्रह गरेको बताउनुभयो ।