गगन थापाको ‘संवाद यात्रा’ आजदेखि पुनः सुरु

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ‘संवाद यात्रा’ आजदेखि पुनः सुरु गर्नु भएको छ । गत माघ २३ मा स्थगित भएको संवाद यात्रा नवलपरासीको सूर्यपुरास्थित प्रतापपुर गुठीबाट पुनः सुरु गर्नु भएको हो ।

१३ माघबाट झापाबाट सुरु भएको संवाद यात्रा कांग्रेस केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीको निधन पछि स्थगित गरिएको थियो । बुढाथोकीको २२ माघमा मृत्यु भएपछि संवाद यात्रा नवलपरासीको गोपीगञ्ज पुगेर रोकिएको थियो ।

स्थगित हुनु अघि १३ जिल्लामा महामन्त्री थापाले संवाद यात्रा गर्नु भएको थियो । १३ माघ देखि २६ माघसम्म हुलाकी राजमार्गले छोएका जिल्लामा संवाद गर्ने गरी यात्रा तय भएको थियो ।

नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ र बाँकेमा संवाद यात्रा गरिने छ । १८ गते संसद बैठक भएकाले संवाद यात्रा १७ गतेसम्म हुने गरी कार्यतालिका बनाइएको छ ।

पार्टीले १६ माघदेखि १० दिनका लागि ‘समुदायमा कांग्रेस’ अभियान देशभर गर्ने गरी कार्यक्रम बनाएको थियो । पार्टीका शीर्ष नेतालाई सात प्रदेश र केन्द्रीय नेताहरुलाई जिल्लामा प्रतिनिधि खटाएर अभियान चलाइएको थियो । बुढाथोकीको मृत्युपछि रोकिएको ‘समुदायमा कांग्रेस’ अभियानलाई निरन्तरता दिनेबारे भने पार्टीले निर्णय गरिसकेको छैन ।