

काठमाण्डौ । बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले तेस्रो पटक विश्वासको मत प्राप्त गर्नुभएको छ ।
आज बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्नुभएको हो । मत विभाजनका क्रममा उहाँको प्रस्तावको पक्षमा ५६ मत खसेको छ । यस्तै उहाँको विपक्षमा ३७ जना सांसदले मत दिए भने १५ जना सांसद तटस्थ रहे ।
एक सय १० सदस्यीय प्रदेश सभामा आज मतदानका क्रममा एक सय आठ जना सांसद उपस्थित थिए । बहुमतका लागि ५६ जना सांसदको समर्थन चाहिनेमा मुख्यमन्त्री जम्कट्टेलले त्यति नै सांसदको समर्थन पाउनुभयो ।
उहाँलाई माओवादी केन्द्र, नेकपा (एमाले), नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टी (हानेपा) ले विश्वासको पक्षमा मत दिएका थिए ।
२०७९ साल पुस २५ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएका माओवादी संसदीय दलका नेता जम्कट्टेलले यसअघि २०७९ साल माघ ३ गते पहिलो पटक र त्यही वर्षको चैत १० गते दोस्रो पटक विश्वासको मत लिनुभएको थियो ।

खबर बजार । १९ चैत्र २०८०, सोमबार १८:५०