दैलेख । दैलेखमा सम्पन्न उपनिर्वाचनमा दुवै स्थानमा नेकपा एमालेले जित हासिल गरेको छ । महाबु गाउँपालिकाको अध्यक्ष र दुल्लु नगरपालिका वडा नम्बर १३ को वडा अध्यक्ष पदमा एमालेका उम्मेदवार विजयी भएका छन् ।
महाबु गाउँपालिकाको अध्यक्षमा एमालेका जंगबहादुर शाही ३ हजार १२७ मतसहित विजयी हुनुभयो ।
उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका झलकबहादुर भण्डारीले २ हजार ६७५ मत प्राप्त गर्नुभयो भने माओवादीका जंगबहादुर बराल मगरले ८४२ मत ल्याउँदा रास्वपाका प्रकाशकुमार बुढाले ११२ मत प्राप्त गर्नुभयो ।
यसअघि कांग्रेसले जितेको यो पालिका अध्यक्षको पदमा उपनिर्वाचनमा एमालेले जित हात पारेको हो ।
शाही यसअघि एकीकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य र दैलेख जिल्ला अध्यक्ष हुनुहुन्थ्यो । तर, उपनिर्वाचनअघि एमालेमा फर्किएर उम्मेदवारी दिनु भएको थियो ।
त्यस्तै, दुल्लु नगरपालिका वडा नम्बर १३ मा पनि एमालेका लालबहादुर शाही ५७४ मत ल्याएर विजयी हुनु भयो । उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका रेशमबहादुर शाहीले ५७१ मत प्राप्त गर्नुभयो ।
खबर बजार । १७ मंसिर २०८१, सोमबार ०९:५८