यस्तो छ आगामी आर्थिक वर्षको बजेटको प्राथमिकता र सिद्धान्त

काठमाडौं । संसदको बजेट अधिवेशन आजबाट सुरु भएको छ । अधिवेश सुरु भएको पहिलो दिनमा नै सरकारले आगामी आर्थिक वर्षको बजेटको प्राथमिकता र सिद्धान्त सम्बन्धी प्रस्ताव संसदमा पेश गरेको छ । अर्थमन्त्री डा.प्रकाशशरण महतले प्रस्ताव पेश गर्दै अर्थतन्त्र चलायमान बनाउने गरी बजेट ल्याइने बताउनुभयो ।

आगामी बजेटले निजी क्षेत्रलाई आर्थिक विकासको संवाहक मान्ने र नीतिगत स्थिति, व्यवसाय मैत्री नीतिको व्यवस्था गरिने मन्त्री महतको भनाई छ । त्यस्तै गैरआवासीयको लगानी परिचालन र अनौपचारिक अर्थतन्त्रलाई औपचारिक अर्थतन्त्रमा आउन अवसर दिइने उहाँको भनाई छ । विदेशी विनिमय सञ्चिती, पर्यटन आगमन, बैकिङ क्षेत्रको केही सुचक सुधार भएका भन्दै उहाँले आउँदो बजेट दिगो विकास र स्रोत साधन लक्षित गर्नेतर्फ केन्द्रीत हुने बताउनुभयो ।

सरकारी वित्तको पुर्नसंसचना गरी अर्थतन्त्रलाइ लयमा फर्काउँने गरी आउँदो बजेट ल्याइने उहाँको भनाई छ । किसानको आयआर्जनमा सहयोग पुग्ने कार्यक्रम, आत्म निर्भरताउन्मुख बनाइने, रासायनिक मलको सहज उपलब्धता, भरपर्दो सिँचाइ योजना लागू गर्ने गरी बजेट ल्याइने, अनुदान प्रणालीलाई प्रभावकारी बनाइने, खाद्य सुरक्षा प्रत्याभुतका कार्यक्रम चलाइने अर्थमन्त्री महतको भनाई छ ।

वैदेशिक रोजगारी सुरक्षित र मर्यादित बनाउने, वित्तीय क्षेत्रलाई स्वच्छ बनाइनुका साथै लघुवित्त र बीमाको पारदर्शिता र जवाफदेहिता बनाउने, सहकारीको नियमन प्रभावकारी बनाइने, सार्वजनिक प्रशासनको क्षमता अभिवृद्धि गरिने विषयलाई बजेटमा समेटिने अर्थमन्त्री महतले बताउनुभयो ।

उत्पादनशील र परिणाममुखी आयोजनामा मात्र बजेट बिनियोजन गरिने भन्दै उहाँले साधारण खर्चमा मितव्ययिता कायम गर्ने र वैदेशिक ऋणलाई उच्च प्रतिफल दिने क्षेत्रमा लगाइने जानकारी दिनुभयो ।