गुप्ताद्वारा मन्त्री पदबाट राजिनामा

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीबाट राजकुमार गुप्ताले राजीनामा दिनुभएको छ ।

घुस लेनदेनको लागि गरेको संवादमा गुप्ताको आवाजसँग मिल्दो आवाज रेकर्डमा सुनिएपछि उहाँलाई नै तोकेर आरोप लागिरहेको बेला सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै आज उहाँले राजीनामा दिएको जानकारी दिनुभएको हो ।

मन्त्री गुप्ताले आफूमाथि लागेका आरोप अनुसन्धान गरी सत्यतथ्य बाहिर ल्याउन सहयोग पुगोस् भनेर राजीनामा दिएको जानकारी दिनुभएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारस्थित निवासमा बोलाएर २४ घण्टाभित्र राजीनामा दिन निर्देशन दिनुभएको थियो । लगत्तै गुप्ताले राजीनामा दिनुभएको छ ।

गुप्ताले आफू उच्चतम प्रविधिको सिकार भएको जिकिर गर्नुभएको छ । केही दिनअघि अडियो सार्वजनिक भएपछि सर्वत्र विरोध भएको थियो । विपक्षी दलहरुले राजीनामा माग गर्नुका साथै कारबाही गर्न माग गरेका छन् ।

गुप्तालाई २०८१ असार ३१ गते अर्थात् वर्षदिनअघि आजै मन्त्रीमा नियुक्त गरिएको थियो ।