

काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कम्प्याक्ट (एमसीसी) मा सहमति जुटाउने प्रयासस्वरुप सत्तागठबन्धनको बैठक शुक्रबार पनि बस्दैछ ।
यसअघि बिहिवारको बैठकमा सहमति जुट्न नसकेपछि आजका लागि बैठक राखिएको छ ।
आजै बोलाइएको प्रतिनिधि सभा बैठक अघि नै सहमति जुटाउने प्रयासस्वरुप आजको बैठक विहान १० बजे बालुवाटारमा डाकिएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी सम्झौता छिटोभन्दा छिटो संसदबाट अनुमोन गराउन चाहे पनि सत्तारुढ नेकपा (माओवादी केन्द्र), नेकपा (एस) र जसपाले सहमति दिएका छैनन् ।
माओवादी केन्द्रले यथास्थितिमा एमसीसी अनुमोदन भए सरकारबाटै बाहिरिने निर्णय गरिसकेको छ । नेकपा एस र जसपा पनि यथास्थितिमा एमसीसी पारित गर्न नहुने अडानमा छ ।
यद्यपि, नेकपा एसका अध्यक्ष माधव नेपाललाई एमसीसीमा सहमति दिएरै भए पनि गठबन्धन जोगाउन निकटका नेताहरुले दबाब दिएका छन् । र जसपाभित्र पनि एमसीसीबारे नेताहरुको एकमत छैन ।

खबर बजार । ६ फाल्गुन २०७८, शुक्रबार ०८:००