एमालेकाे विधान संशाेधन प्रस्तावमाथि दैलेखका २८ जिल्ला कमिटी सदस्यहरूकाे सुझाव

दैलेख । नेपाल कम्युनिष्ट पार्टी (एमाले) काे यहि भदाै २० देखि २२ सम्म हुने दोस्रो विधान महाधिवेशनबाट संशोधन हुने विधान संशोधन प्रस्तावमाथि दैलेख जिल्ला कमिटीले छलफल गरी सुझाव दिएकाे छ ।

जिल्ला कमिटी सदस्यहरूले पार्टीको नीति कार्यकर्तामुखी आवश्यक रहेको बताएका छन् । ललितपुरको गोदावरीमा हुने पार्टीको दोस्रो विधान महाधिवेशनका लागि सुझाव सङ्कलनका गर्न सम्पन्न (एमाले) जिल्ला कमिटीको बैठकमा सहभागी सदस्यहरूले पार्टीमा कार्यकर्तामा आधारित नीति आवश्यक रहेको बिचार व्यक्त गरेका हुन् ।

विधान संशोधनका लागि सञ्चालित बैठकमा २८ जना जिल्ला कमिटीका सदस्यहरूले विभिन्न सुझाव राख्नुभएको (एमाले) दैलेखका प्रचार विभाग प्रमुख दीपेन्द्र ओलीले बताए । सङ्कलित सुझावलाई निर्णय गरेर पार्टी केन्द्रीय कमिटीमा पठाइएको छ । पार्टी केन्द्रीय कमिटीले छलफलका लागि पठाएको मस्यौदामा पालिका स्तरमा छलफल गरी पार्टी जिल्लालाई सुझाव प्रदान गरेका थिए ।

विधान संशोधनका लागि प्रदान गरिएका सुझावहरू पार्टी जीवन र सङ्गठन सञ्चालनका लागि महत्त्वपूर्ण रहेका प्रचार विभाग प्रमुख ओलीको भनाई छ । ‘एमाले जनतामा आधारित पार्टी हो । जिल्लाबाट केन्द्रमा जाने सुझावले पार्टी जीवन र सङ्गठन सञ्चालनमा महत्त्वपूर्ण भूमिका खेल्नेछ । सामूहिक निर्णयको प्रयत्न स्वरूप राम्रो काम भएको छ ।,’ ओलीले भने ।

बैठक जिल्ला कमिटीका अध्यक्ष  सूर्यबहादुर शाहीको अध्यक्षता, पोलिटव्यूरो सदस्य लक्ष्मीप्रसाद पोखरेलको प्रमुख आतिथ्यता तथा केन्द्रीय कमिटी सदस्यहरू राजबहादुर बुढा, मीनासिं रखाल, कर्णाली प्रदेश कमिटी उपसचिव रविन्द्रराज शर्मा तथा प्रदेश कमिटी अन्य सदस्यहरूको उपस्थितिमा सम्पन्न भएको हो । यसअघि ११ वटै स्थानीय तह कमिटीले छलफल गरी समेत सुझाव जिल्ला कार्यालयमा पेश गरेका छन् । सबै सुझावलाई समेटेर केन्द्रीय कमिटीमा पठाइने छ ।

बैठकमा पार्टी केन्द्र र प्रदेशले जारी गरेका अन्तर पार्टी निर्देशन माथि व्यापक छलफल गरिएको थियो । बैठकले बाँकी जनवर्गीय सङ्गठनका अधिवेशन असोजभित्र गरिसक्ने निर्णय गरेको छ । (एमाले) दैलेखमा सङ्गठित सदस्यको सङ्ख्या वृद्धि भएको जनाइएको छ । २०८२ सालसम्मको नवीकरण विवरण अनुसार जिल्लामा दश हजार २ सय ५१ सङ्गठित सदस्य छन् ।