
दाङ । नेकपा (एमाले)को चुनाव चिन्ह सूर्य अंकित झण्डा जलाउने काममा संलग्न रहेको भन्दै जिल्ला प्रहरी कार्यालय दाङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को एक जना कार्यकर्तालाई पक्राउ गरेको छ ।

साथै घटनाको अनुसन्धानसँगै अन्यको खोजि कार्य जारी राखिएको प्रहरीले जनाएको छ ।
बिहीबार राति करिब ९ः३० बजे दाङको तुलसीपुर उप–महानगरपालिका–५ स्थित वीरेन्द्र चोकमा आयोजित कार्यक्रममा केही अपरिचित व्यक्तिहरूले नेकपा (एमाले)को चुनाव चिन्ह अंकित झण्डा जलाएको भिडियो सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको थियो ।
कार्यक्रम राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सुर्खेतबाट दाङको घोराही आउने क्रममा आयोजित स्वागत कार्यक्रम रहेको थियो ।
घटनाको अनुसन्धानका क्रममा तुलसीपुर उप–महानगरपालिका–७ कालाखोला निवासी वर्ष ५५ का बुद्धि बहादुर बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।
साथै समाजमा शान्ति–सुरक्षा र सामाजिक सद्भावमा खलल पुर्याउने गतिविधि नगर्न तथा सबै पक्षलाई संयमित र जिम्मेवार बन्न आग्रह गरेको छ ।




खबर बजार । ८ फाल्गुन २०८२, शुक्रबार २०:२२