जेन-जी अगुवाहरुको एउटै स्वर- ‘‘र्‍यापरलाई प्रधानमन्त्री भन्दै उचालेर देशलाई संकटतिर लगिँदैछ’’

काठमाडौं । संयुक्त जेन-जी आन्दोलनका अगुवाहरुले निर्वाचनको विरोधी नभए पनि आफूहरुका माग सम्बोधन नगरी हुने निर्वाचान स्वीकार्य नहुने चेतावनी दिएका छन् ।

काठमाडौंको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी जेन-जी अगुवाहरुले यस्तो चेतावनी दिएका हुन् । कार्यक्रममा जेन-जी ‘अजय सोडारी’सँग सरकारले गरेको ६ बुँदे सम्झौता कार्यान्वयन गर्न ढिलाई गरेकोप्रति रोष व्यक्त समेत गरिएको छ ।

संयुक्त जेनजी आन्दोलनका सहसंयोजक अजय सोडारीले आफू ११ दिनसम्म अनसन बसेपछि सरकारले माग पूरा गर्ने सम्झौता गरे पनि कार्यान्वयन नगरेको आक्रोश व्यक्त गर्नुभयो ।

सरकारले दश दिनमा पूरा गर्छु भनेर आफ्ना माग र मुद्दामाथि बुट बजारेको आरोप लगाउँदै सोडारीले फेरी पनि जेलको काल कोठरीसम्म जान तयार रहेको र मागप्रति प्रतिबद्ध रहेको बताउनुभयो ।

आन्दोलनका कमाण्डर सुनिल सिंहले आफूहरु निर्वाचानको विरोधी नभए पनि जेनजीका माग सम्बोधन नगरी गरिने चुनाव स्वीकार्य नहुने चेतावनी दिनुभयो ।

सिंहले निर्वाचन बिथोल्न अरुले अराजकता मच्चाएको र आफूहरुलाई आरोप लगाउने कार्य गलत भएको बताउँदै परिवर्तन विरोधीले झण्डा जलाउने तोडफोड गर्ने अनि आफूहरुलाई जेल कोच्ने काम यो सह्य नभएको बताउनुभयो ।

बालेन साहप्रति इङ्गित गर्दै सिंहले भन्नुभयो, ‘एकजना र्‍यापरलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर देशलाई विदेशी गुलाम बनाउने षड्यन्त्र हुँदैछ, त्यसको हामी कडा प्रतिवाद गर्छौं ।’

नेपाल स्वतन्त्र नागरिक सञ्जालका संयोजक दिनेश सुवेदीले यथास्थितिमा हुने निर्वाचनले देशलाई थप भड्कालोमा लग्ने पक्का भएकोले त्यसलाई रोक्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

सुशीला सरकारको प्रस्तावित स्वास्थ्यमन्त्री डा. जगत विकले यही तरिकाको निर्वचान गर्नुले जेनजीको क्रान्तिको भावना विपरित हुने जनाउनुभयो ।

मेयर पद त्यागरे प्रधानमन्त्रीको दौडमा लागेका बालेन साहको कार्य गलत भएको बताउँदै विकले भन्नुभयो, ‘सो कल्ड प्रधानमन्त्री मात्रै हुन, उनी प्रम बन्दैनन् तर देशलाई अस्थिरतामा धकेल्न यीनको पनि भूमिका छ ।’

जेनजी सल्लाहकार लेनलिन विष्टले आफूहरुले सर्वपक्षीय सहमतिको सरकारमार्फत जेनजीका माग पूरा गरेर मात्रै निर्वाचानमा जानुपर्नेमा जोड दिनुभयो ।

जेनजी आन्दोलनलाई ‘हाइज्यक’ गरेर बनेको सरकारका अधिकाशं व्यक्तिहरु रास्वपाका उम्मेदवार हुनुले आन्दोलन ‘हाइज्याकर’ रास्वपा नै भएको उहाँको दाबी छ ।

जेनजी प्रकाश बमले रगतको होली खेलेर बनेको सरकारले जेनजीका कुनै पनि माग तथा मुद्धाहरु सम्बोधन नगरि देशलाई निर्वाचनमा धकेलेको दावी गर्नुभयो ।