
भक्तपुर । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेसका नेता एवं पूर्वगृहमन्त्री रमेश लेखकलाई सरकारले पक्राउ गरेको छ ।

नवगठित सरकारको मन्त्रीपरिषद् बैठकपछि जेन-जी आन्दोलन र त्यसपछि गठित छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गरेको भन्दै सरकारले ओली र लेखकलाई पक्राउ गरेको हो ।
अध्यक्ष ओलीलाई पक्राउ गर्न प्रहरीले मध्यरातिदेखि नै एसएसपी सन्तोष खड्काको नेतृत्वमा टोली खटाएको थियो ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी खड्काको टोली भक्तपुर प्रहरीका विभिन्न युनिटसहित ओली निवास गुण्डु पुगेको थियो ।
उहाँलाई पक्राउ गरी महाराजगन्जस्थित प्रहरी प्रतिष्ठानमा स्वास्थ्य परीक्षण गरि थप कानूनी प्रक्रिया अघि बढाइएको प्रहरीस्रोतले जनाएको छ । ओली आफ्नै गाडीमा प्रहरीसँग जानुभएको छ ।
प्रहरी आइजीपीको नक्सालस्थित निवासमा गृहमन्त्री सुधन गुरुङसहित मध्यरातसम्म भएको छलफलपछि गृह मन्त्रालयले राति नै ओलीलाई पक्राउ गर्न लिखित आदेश दिएको थियो । आदेशानुसार प्रहरी परिचालित भएको हो ।
यसैगरी, भक्तपुर, कटुन्जेस्थित घरमा सुतिरहेका कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई प्रहरीले नै उठाएर साथमा लगेको हो ।
ओली र लेखकको पक्राउपछि देश मुठभेडमा जाने संकेत देखिएको छ । एमाले र काँग्रेसका नेता/कार्यकर्ताहरुले सडक, सदन र न्यायलयबाट लड्ने चेतावनी दिएका छन् ।




खबर बजार । १४ चैत्र २०८२, शनिबार ०९:१९