स्याङ्जा २ मा हालसम्म किन सुरू भएन मत गणना ?


स्याङ्जा । स्याङ्जा २ मा हालसम्म गणना सुरू भएको छैन । चापाकोट नगरपालिकाका चारवटा बुथमा नेपाली कांग्रेसले एकलौटी कब्जा गरेर फर्जी मत खसालेको भन्दै एमाले, राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टीले पुन: मतदानको माग गरेका छन् ।

ती ४ बुथमा अस्वाभाविक मत खसेको र प्रहरी प्रशासन पनि मुकदर्शक बनेको उनीहरूको आरोप छ ।

अरु क्षेत्रमा औसतमा ६० प्रतिशत मत खसेपनि यहाँ ९८ प्रतिशतसम्म मत खसेको भन्दै एमाले उम्मेदवार पद्मा अर्याल, राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले पुन: मतदानको मागसहित सोमबार पत्रकार सम्मेलन गरे ।

सत्ता र शक्तिको आडमा गठबन्धनले मृतक र विदेशिएकाको नाममा अस्वाभाविक मत खसाएको भन्दै चापाकोट ३, ४ र ५ का ४ वटा बुथका मतदाताको नामावली सार्वजनिक गरेको छ । जसमा फर्जी मात हालिएका मृतक र विदेशिएकाको नाम पनि समावेश छ ।

‘अस्वाभाविक मत कसरी खस्यो भनेर हेर्‍यौं, विदेशिएका र मृतकको नाममा पनि मत हालेको देखिन्छ,’ एमाले उम्मेदवार अर्यालले भन्नु भयो ।

एमालेको दाबीअनुसार चापाकोट ३ दिसिङकोट आधारभूत विद्यालय, कमेरेको मतदानस्थलका १६४१ मध्ये १४ मतदाताको मृत्यु भइसकेको र ३ सय बढी विदेश छन् । यसै आँकडा अनुसार ३१४ बढी मतदाताको नाममा मत खस्नु नपर्ने हो । तर, त्यस बुथमा ८० जनाले मात्रै मतदान नगरेको मुचुल्कामा देखिन्छ ।

यस्तै राम मन्दिर मावि दार्सिङ, नरसेवाको मतदान केन्द्रमा पनि १६४१ मतदाता छन् । यसमध्ये ३१ मतदाताको मृत्यु भइसकेको र ४ सय बढी विदेश छन् । आइतबार भएको निर्वाचनमा भने यहाँ ९८ प्रतिशत मत खसेको छ, मात्रै २८ जनाले मत हालेका छैनन् ।

जनसक्रिय आधारभूत विद्यालय पोखरीको मतदान केन्द्रमा ९११ मतदाता छन् । एमालेका अनुसार यहाँ ३५० बढी विदेशिएको र ११ जनाको मृत्यु भइसकेको छ । यहाँ पनि ९० प्रतिशत ८९२ मत खसेको छ । चापाकेटकै दिनदयालु आधारभूत विद्यालयको मतदान केन्द्रमा पनि ९८ प्रतिशत मत खसेको छ । यहाँ कुल ४ सय ६९ मतदाता छन्, जसमध्ये १ जनाको मृत्यु भइसकेको र २० जना विदेशमा छन्

एमाले उम्मेदवार पद्मा अर्याल आयोगको भूमिकामा शंका गर्ने प्रशस्त ठाउँ रहेको जिकिर गर्नु हुन्छ । कब्जा भएका भनिएका ती ४ बुथमा मतदान गर्न सहरमा बसेका केही मतदाताको तथ्यांक पनि नजोडेको र मृतक, विदेशिएकाको तथ्यांक सरसर्ती केलाउँदा पनि धाँधली भएको पुष्टि हुने उहांले बताउनु भयो ।

‘हामीले मृतक र विदेशिएकाको नामबाट मत खस्यो भनेका छौं, यसमा सहर बसेर मत हाल्न नआएका मतदाताको नाम छैन,’ उहांले भन्नु भयो, ‘सरसर्ती हेर्दै धाँधली भएको छ, मरेका र विदेशिएकाको नाममा गठबन्धनले मत हालेकै हो ।’ आफूहरूलाई बुथमा बस्न पनि नदिएको र गठबन्धनले प्रहरी प्रशानको आडमा आफैंले मत हाल्दै खसाल्दै गरेको उहांको आरोप छ ।

सो क्षेत्रमा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ र नेकपा एमालेकी सचिव पद्मा अर्यालबीच प्रतिस्पर्धा छ । कांग्रेसले प्राय: चुनावमा चापाकोटमा बुथ कब्जा गर्ने गरेको छ र यसपटक पनि सोही प्रवृति दोहोर्याएको आरोप अन्य पार्टीले लगाएका छन् ।

उपसभापति गुरुङकै संलग्नतामा बुथ कब्जा भएको र सो कब्जा नहुदा चुनाव जित्न नभएपछि पुन: मतदान हुन नदिन गुरुङ धर्नामा बसेको आरोप एमालेले लगाएको छ ।

यता कांग्रेसका उम्मेदवार तथा पार्टीका उपसभापति धनराज गुरुङ भने एमालेले पराजित मानसिकताका साथ लफडा गरिरहेको बताउनु हुन्छ ।

‘धाँधली भएको भए किन त्यही बेला नरोकेको ? मुचुल्का उठाउँदादेखि मतपेटिका बुझाउँदासम्म किन हस्ताक्षर गरेको ?’ उहांको प्रश्न छ ।