
काठमाडौँ । प्रहरी हिरासतमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओेली र पूर्वगृहमन्त्री रमेश लेखकलाई रिहा गरिने भएको छ । सर्वोच्चको आदेशअनुसार आज छोड्न लागिएको स्रोतले बताएको छ ।

जेन्जी आन्दोलन घटना छानबिनका लागि गठित जाँचबुझ आयोगले दिएको प्रतिवेदनका आधारमा ज्यानसम्बन्धी कसुरमा उनीहरूलाई पक्राउ गरिएको थियो । तर मुद्दा दायर गर्ने आधार र प्रमाण पर्याप्त नभएकाले छोड्न लागिएको महान्यायाधीवक्ता कार्यालय स्रोतले बतायो ।
सर्वोच्चले उनीहरूविरूद्ध मुद्दा दायर गर्न वा २६ गतेसम्ममा छोड्न आदेश दिएको थियो । प्रहरी र महान्यायाधीवक्ता कार्यालयबीच मुद्दा दायर नगर्ने सहमति जुटेको जनाइएको छ ।
प्रहरी हिरासतमा राखिएका एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री ओली र कांग्रेस नेता एवम् पूर्वगृहमन्त्री लेखकलाई आजपछि हिरासतमा राख्न सकिने आधार छैन, न त मुद्दामा प्रमाण नै पुग्छ । तर, उनीहरुलाई ‘कुनै हालतमा नछोड्नु’ भनी प्रहरी र सरकारी वकिललाई उच्च राजनीतिक तहबाट निन्तर दबाब आइरहेको बुझिएको छ ।




खबर बजार । २६ चैत्र २०८२, बिहीबार १०:४५