सुर्खेत । मुगुमा यस वर्ष मात्रै ९१ जना बालबालिकामा कडा प्रकृतिको कुपोषण देखिएको स्वास्थ्यकर्मीहरूले जनाएका छन् । गत वर्ष २ सय २ जना बालबालिकामा कडा प्रकृतिको कुपोषण देखिएको थियो भने यो चालु आर्थिक वर्षमा ९१ जना बालबालिकामा कडा कुपोषण देखिएको जिल्ला स्वास्थ्य सेवा कार्यालयका स्वास्थ्य सेवा व्यवस्थापक उमेश गौतमले बताउनुभयो ।
अघिल्लो आर्थिक वर्षको तुलनामा यस वर्ष कडा कुपोषण हुने तथ्यांक ११ ले कम आएको उहाँको भनाइ छ । यस्तै अघिल्लो वर्ष १ सय १ जना बालबालिकामा मध्यम खालको कुपोषण देखिएको थियो भने यो वर्ष बढेर १ सय ६५ जनालाई मध्यम खाले कुपोषण देखा परेको जिल्ला स्वास्थ्य सेवा कार्यालयले जनाएको छ ।
यस्तै गत वर्ष कम तौल भएका बालबालिकाको संख्या ६.३ प्रतिशत थियो भने यस वर्ष घटेर ५.९ प्रतिशत रहेको छ । कडा कुपोषण भएका बालबालिकालाई अस्पतालमै भर्ना गरेर ४२ दिनसम्म सर्वोत्तम पिठो खुवाउने गरिएको स्वास्थ्य सेवा व्यवस्थापक गौतमले जनाए । यसमध्ये बढी कुपोषित हुने दर भने दलित समुदायका बालबालकामा बढी देखिएको बताइएको छ ।
चार वटा स्थानीय तहमध्ये छायाँनाथ रारा नगरपालिका र सोरु गाउँपालिकाका बालबालिकामा बढी कुपोषण जोखिम देखिएको स्वास्थ्यकर्मीले बताउनुयो ।
तालिम, कुपोषण व्यवस्थापन तौल मेसिन खरिद लगायत कार्यको लागि जिल्लास्वास्थ्य सेवा कार्यालयबाट वर्षेनी २५ लाख बजेट खर्च हुने गरेको छ ।यस्तै लामो समयदेखि मुगुमा डब्लुएफपी अन्तर्गत सप्रोप नेपालले ६ देखि २३ महिनाका बालबालिका र गर्भवती आमालाई निःशुल्क पोषिलो पिठो उपलब्ध गराउँदै आए पनि अझै कुपोषण घट्न सकेको छैन ।
खबर बजार । १ असार २०७९, बुधबार ०७:१७