
काठमाडौं । विशेष महाधिवेशनबाट निर्वाचित नेपाली कांग्रेसले नेता पूर्णबहादुर खड्कालाई ७ दिने स्पष्टीकरण सोधेको छ ।आज बसेको अनुशासन समितिको बैठकले खड्कालाई कारबाहीको लागि स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

खड्काले पार्टीको लेटरप्याडमा कार्यवाहक सभापतिको हैसियतमा विज्ञप्ति निकालेको भन्दै अनुशासन समितिले कारबाही प्रक्रिया थालेको हो । यसअघि पनि विज्ञप्ति निकाल्दा सचेत गराइएको कांग्रेसले जनाएको छ ।
अनुशासन समितिका अध्यक्ष तारामान गुरुङले खड्काले पार्टीमा नभएको जिम्मेवारीमा छु भन्दै अनधिकृत वक्तव्य निकालेपछि स्पष्टीकरण सोधेको बताउनुभयो । यसअघि सचेत गराउँदा समेत अटेर गरेर नक्कली लेटरप्याड प्रयोग गरेर पार्टीको विधान विपरीत कार्य गरेको बताउनुभयो ।
तर, नेता खड्काले भने अवैधानिक समितिबाट आफूलाई स्पष्टीकरण सोध्नु हाँस्यास्पद भएको भन्दै जवाफ नदिने प्रतिक्रिया दिनुभएको छ ।
आफूलाई स्पष्टीकरण सोध्नु नै हास्यास्पद, निरर्थक र अर्थहीन भएको प्रतिक्रिया दिनुभयो । गगन थापा नेतृत्वको कार्यसमितिलाई नै अवैध मानेको जिकिर गर्दै सर्वोच्च अदालतको फैसलाको आधारमा कांग्रेसलाई अघि बढाउने खड्काले बताउनुभयो ।




खबर बजार । २ बैशाख २०८३, बुधबार १६:२०