देउवा दम्पतीविरुद्ध जारी पक्राउ पुर्जी कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले यस्तो आदेश दिएको हो ।

अदालतले काठमाडौँ जिल्ला अदालतबाट जारी गरिएको पक्राउ पुर्जीका आधारमा उनीहरूलाई पक्राउ नगर्न तथा नगराउन आदेश जारी गरेको अदालतका सूचना अधिकारी निराजन पाण्डेले जानकारी दिनुभयो ।

सर्वोच्च अदालतले सम्पत्ति शुद्धीकरण अनुसन्धानसम्बन्धी मुद्दाको क्षेत्राधिकारबारे पनि प्रारम्भिक व्याख्या गरेको छ । गत वैशाख १८ गते लागू गरिएको अध्यादेशअनुसार यस्ता मुद्दा विशेष अदालतमा दर्ता भई सुनुवाइ हुनुपर्ने व्यवस्था रहेको आदेशमा उल्लेख गरिएको छ ।

यसै आधारमा, विशेष अदालतको क्षेत्राधिकारभित्र पर्ने विषयमा काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको देखिएकाले त्यसको कार्यान्वयन तत्काल नगर्न अन्तरिम आदेश जारी गरिएको अदालतले जनाएको छ ।