चितवन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा आफ्नो दाबेदारी स्वभाविक रहेको बताउनु भएको छ ।
नेपाल प्रेस युनियन चितवनले बिहीबार चितवनमा आयोजना गरेको पत्रकार सम्मेलनमा वरिष्ठ नेता पौडेलले कांग्रेसको नेतृत्वमा गठबन्धनको सरकार र त्यसको नेतृत्व आफूले पाउनुपर्ने स्वभाविक माग भएको बताउनु भएको हो ।
‘गठबन्धनको बहुमत पुग्छ । गठबन्धनको सरकार बन्छ । दलहरुबीच सल्लाह हुँदैछ,’ उहांले भन्नु भयो, ‘म प्रधानमन्त्रीको स्वभाविक उम्मेदवार हो । अहिले प्रधानमन्त्रीको उम्मेदवार मै हो ।’
पार्टीभित्र सल्लाह गरेर एउटा मात्र उम्मेदवार बनाइने उहांले बताउनु भयो । पार्टीभित्र आन्तरिक सल्लाह हुन बाँकी रहको उहांको भनाइ छ ।
‘सबै साथी खुला नै हुनुहुन्छ, सभापति र अरु साथीहरु पनि खुला हुनुहुन्छ । तर अहिलेको परिस्थिति देशले एक पटक नयाँ टेष्ट गर्नुपर्ने मान्छे म मात्र हो,’ उहांले भन्नु भयो, ‘पार्टी सभापतिले मेरो प्रस्तावलाई सहजरुपमा नै लिनुभएको छ । सल्लाह गरौला भन्नुभएको छ । सल्लाह हुन्छ ।’
टिकट वितरण गर्दा गठबन्धन दलहरुबीच तालमेल नमिलेका कारण निर्वाचनमा कतिपय स्थानमा पराजय भोग्नु परेको उहांले बताउनु भयो । युवाको जोस र पुरानाको अनुभवलाई मिलाएर देश चलाउने नेता पौडेलले बताउनु भयो । फरक शक्तिको आगमनलाई गम्भीरतापूर्वक लिएको उहांको भनाइ छ ।
खबर बजार । १५ मंसिर २०७९, बिहीबार १२:२४