संसदमा एमसीसीबारे छलफल शुरू हुँदै, अर्थमन्त्री जनार्दन शर्माले प्रस्ताव पेस गर्ने कार्यसूची

काठमाडौं । अस्ति फागुन ८ गते प्रतिनिधिसभामा पेस भएको अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेञ्ज कम्प्याक्ट (एमसीसी) बारे बिहिवारदेखि छलफल शुरू हुने भएको छ ।

दिउँसो १ बजे बस्ने संसद बैठकमा एमसीसी सामान्य छलफलका लागि अर्थमन्त्री जनार्दन शर्माले पेस गर्ने संघीय संसद सचिवालयले तयार पारेको कार्यसूचीमा उल्लेख छ ।

फागुन ८ को संसद बैठकमा अर्थमन्त्री शर्माले टेबल गर्ने कार्यसूचीमा राखिएको भए पनि त्यतिबेला शर्मा उपस्थित हुनुभएन । र, सञ्चार तथा सुचना, प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले टेबल गर्नुभएको थियोे ।

यसैबीच, एमसीसीलाई कसरी अगाडि बढाउने भन्नेबारे छलफल गर्न सभामुख अग्निप्रसाद सापकोटाले आजै कार्यव्यवस्था तथा परामर्श समितिको बैठक बोलाउनुभएको छ ।

एमसीसीकै कारण सत्तागठबन्धनसमेत धरापमा परेको छ । सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेस जसरी पनि एमसीसी पास गर्ने रणनीतिमा छ भने सत्तासाझेदार माओवादी केन्द्र र नेकपा एस एमसीसीको विपक्षमा छ ।