गठबन्धन जोगाउनुपर्ने दबावमा प्रचण्ड, छलफल तिब्र

काठमाडौं । सत्ता गठबन्धन जोगाउनुपर्ने दबाव बढेपछि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) छलफललाई तिब्रता दिनुभएको छ ।

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कम्प्याक्ट (एमसीसी) अनुमोदनको सकस झेलिरहेका प्रचण्ड गठबन्धनको भविष्यबारे चिन्तित बनेको बुझिएको छ ।

निर्वाचनको पूर्वसन्ध्यामा गठबन्धन भत्कन नहुने निष्कर्षमा पुग्नुभएका प्रचण्ड प्रधानमन्त्री शेरवहादुर देउवासँग छलफल गर्न बालुवाटार पुग्नुभएको छ।

प्रधानमन्त्रीसँग छलफलमा जानुअघि प्रचण्डले सिंहदरबारमा नेकपा (एस) र जसपाका नेताहरूसँग छलफल गर्नुभएको थियो ।

सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा प्रचण्डसँगको छलफलमा एसका अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनालसहित जसपा नेताहरूको उपस्थिति थियो ।

नेकपा माओवादी केन्द्र, नेकपा एस र जसपाको उपेन्द्र यादव पक्ष एमसीसीको विपक्षमा छन् । बाबुराम भट्टराई पक्ष भने पारित गर्नुपर्ने पक्षमा छ ।

सरकारले एमसीसी आज संसदमा छलफल गराएर भोलि पारित गर्ने तयारी गरेको छ । सत्ता गठबन्धन एमसीसीमा एकमत नहुने हो भने प्रधानमन्त्रीले नेकपा (एमाले) सँग सहकार्यको हात अघि बढाउनुपर्ने भएकाले पनि गठबन्धन जोगाउन प्रचण्डको दौडाहा बढेको हो ।