लुम्बिनीका मुख्यमन्त्रीले भदौ १ मा विश्वासको मत परीक्षण गर्ने 

रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आगामी भदौ १ गते प्रदेश सभामा विश्वासको मत परीक्षण गर्नुहुने भएको छ ।

नेपाली काँग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि उत्पन्न संवैधानिक दायित्व पूरा गर्न उहाँले प्रदेश सभाबाट विश्वासको मत लिन लाग्नुभएको हो ।

काँग्रेसले गत साउन १२ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेश सभामा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । सोही व्यवस्थाअनुसार आचार्यले विश्वासको मत लिन लाग्नुभएको हो ।

मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गरेपछि मात्र मन्त्रिपरिषद् विस्तार र मन्त्रालयको जिम्मेवारी बाँडफाँटलाई अन्तिम रूप दिने सत्तापक्षको तयारी छ । नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी बीचको सत्ता सहमतिअनुसार लुम्बिनी सरकारको नेतृत्व एमालेले गर्ने तथा आचार्यलाई नै मुख्यमन्त्रीका रूपमा निरन्तरता दिने निर्णय यसअघि भइसकेको छ ।

नयाँ राजनीतिक समीकरणअनुसार नेकपालाई सरकारमा सहभागी गराउने विषय भने अझै टुंगिन बाँकी छ । नेकपाका प्रदेश संसदीय दलका नेता इन्द्रजित थारूका अनुसार मुख्यमन्त्रीले विश्वासको मत लिएपछि मात्र आफ्नो दलबाट सरकारमा सहभागी हुने मन्त्रीको नाम पठाउने तयारी छ ।

लुम्बिनी प्रदेश सरकारमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित नौ वटा मन्त्रालय रहेका छन् । अहिले मुख्यमन्त्रीसहित एमालेका पाँच जना र जनता समाजवादी पार्टी नेपालका दुई जना मन्त्री सरकारमा छन् ।

८३ सदस्यीय प्रदेश सभामा सरकारलाई बहुमत सिद्ध गर्न कम्तीमा ४२ सांसदको समर्थन आवश्यक हुन्छ । एमालेसँग २९ र नेकपासँग सभामुखसहित १३ सांसद छन् । सभामुखले मतदानमा भाग लिन नपाउने भएकाले सरकारलाई आवश्यक बहुमत पुर्‍याउन अन्य दल वा सांसदको समर्थन जुटाउनुपर्ने अवस्था देखिएको छ।