काँग्रेस फुटको संघारमा, समानान्तर गतिविधि शुरू 

काठमाडौं । नेपाली काँग्रेस औपचारिक फुटको संघारमा पुगेको छ । विशेष महाधिवेशनको समयमा फुट्दा प्रतिनिधि सभा निर्वाचनको कारण जोगिएको काँग्रेस निर्वाचनमा अप्रत्याशित पराजय भए सँगै फेरि फुट्ने संकेत देखिएको हो ।

काँग्रेसमा दुई समानान्तर गतिविधि स्पष्ट देखा परेको छ । केन्द्रीय कार्यालयमा विशेष महाधिवेशबाट निर्वाचित केन्द्रीय समितिको बैठक चलिरहँदा धुम्बाराहीको एक होटलमा १४ औं महाधिवेशनबाट निर्वाचित कार्यसम्पादन समितिको बैठक बसिरहेको थियो ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवा हुनुहुन्छ । उहाँले जेन-जी आन्दोलनलगत्तै उपसभापति पूर्णबहादुर खड्कालाई ‘कार्यवाहक सभापति’ को जिम्मेवारी दिनुभयो । पुस २७ गते एक पक्षले काठमाडौंमा कांग्रेसको विशेष महाधिवेशन गर्‍यो । विशेष महाधिवेशनबाट गगन थापा सभापति निर्वाचित हुनुभयो ।

निर्वाचन आयोगले उहाँलाई आधिकारिकता पनि दियो । यद्यपि आधिकारिकताको विवाद सर्वोच्च अदालतमा विचाराधीन नै छ ।

तर, निर्वाचन नजिकै भएको र रुख चुनाव चिन्हको आशले दुवै पक्षले एकले अर्कालाई समेटेर जाने प्रयत्न गर्नुपर्‍यो । निर्वाचन आयोगले विशेष महाधिवेशनलाई वैधता दिएपछि चौधौँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिले आधिकारिता गुमायो ।

यद्यपि सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सर्वोच्च अदालतमा रीट दिएर पार्टीको आधिकारितासम्बन्धी कानुनी लडाइँ जारी राखेका छन् ।

निर्वाचन आयोगले मान्यता दिएको र सर्वोच्च अदालतले पनि अन्तरिम आदेश नदिएको अवस्थामा विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाले आफ्नै हस्ताक्षरमा प्रतिनिधिसभाको प्रत्यक्षतर्फको टिकट वितरण गर्नुभयो । विशेष महाधिवेशनको पक्षमा नभएपनि कतिपय नेताहरूले गगनकै हस्ताक्षरमा चुनाव लडे ।

निर्वाचनको परिणाम निराशाजनक भएपछि अहिले दुवै पक्षले आ-आफ्नै गतिविधिलाई अगाडि बढाएका छन् ।