संसद बैठकमा आज एमसीसीबारे छलफल, पास होला त एमसीसी ?

काठमाडौं । फागुन ८ गते पेश भएको अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कम्प्याक्ट (एमसीसी)बारे शुक्रबारको प्रतिनिधि सभामा छलफल निर्धारण गरिएको छ ।

दलहरुबीच सहमति नभएपछि यसअघि बिहिवार सरकारको आग्रहमा शुक्रबारको लागि स्थगित गरिएको थियो । संसद् बैठक दिउँसो १ बजे निर्धारण गरिएको हो ।

सरकार (खासगरी सरकारको नेतृत्वकर्ता नेपाली काँग्रेस) जसरी पनि एमसीसी संसदबाट पारित गर्न लागि परेको छ । तर सत्तारुढ दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी एमसीसीको विपक्षमा छ । त्यस्तै सत्ताघटक जसपामा पनि एमसीसीबारे दुई धार छ ।

त्यसकारण काँग्रेसले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को साथ लिन खोजेको छ । हिजो भएका दुइवटा छलफल एवं बैठकमा कांग्रेस र एमालेबीच करिब सहमति भएको बताइएको छ ।

एमालेले सभामुख हटाउनुपर्ने र आफूहरुले कारबाही गरेका १४ सांसदलाई पदमुक्त गर्नुपर्ने अडान राखिरहेको छ । यसप्रति सरकार सकरात्मक भएको बताइएको छ ।

कांग्रेसले हालको सत्तागठबन्धनको औचित्य सकिएको निष्कर्ष निकालिसकेकाके छ ।

माओवादी केन्द्र र नेकपा एसका कार्यकर्ता एमसीसीको विरोधमा प्रदर्शन गरिरहेका छन् ।