

काठमाडौं । सत्ताधारी दल नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) ले अमेरिकी सहयोग सम्बन्धि परियोजना मिलेनियम च्यालेञ्ज कम्प्याक्ट (एमसीसी) को पक्षमा मतदान गर्ने भएका छन् ।
यसअघि एमसीसीको बिरोधमा कार्यकर्ता सडक आन्दोलनमा परिचालन गरेका दुबै दलले सत्ता गठबन्धन जोगाइराख्न एमसीसीको पक्षमा मतदान गर्ने निर्णय गरेका हुन् ।
माओवादी केन्द्रको पूर्व स्थायी कमिटी सदस्य सम्मिलित केन्द्रीय कार्यालयको विस्तारित वैठकले व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्ने निर्णय गरेको शिक्षामन्त्री देवेन्द्र पौडेलले जानकारी दिनुभयो ।
प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको संस्थागत निर्णय मागेपछि शनिवार दिनभर नेकपा (एकीकृत समाजवादी) र नेकपा (माओवादी केन्द्र) का नेताले आ आफ्नो पार्टीमा सल्लाह गरेका थिए ।
फेस सेभका लागि संसदबाट एकपक्षीय घोषणा गर्ने गरि एमसीसी पास गर्ने र गठबन्धन पनि जोगाउने सहमति भएको छ ।
गठबन्धत भत्किँदा आगामी तीनै तहका निर्वाचन नेकपा (एमाले) सँग एक्लै लडेर जित्न नसकिने आँकलन गरेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले एमसीसी पास गर्ने समझदारी गरेका थिए ।

खबर बजार । १५ फाल्गुन २०७८, आईतवार ११:१३