काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद ढाकाकुमार श्रेष्ठको सांसद पद रिक्त भएको छ ।
मङ्गलवार प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले श्रेष्ठको सांसद पद रिक्त रहेको जानकारी गराउनुभएको हो । घुस मागेको अडियो सार्वजनिक भएपछि रास्वपाले सांसद श्रेष्ठलाई पदमुक्त गराउन सङ्घीय संसद् सचिवालयमा पत्राचार गरेको थियो । पार्टीको त्यही निर्णय बमोजिम उहाँको पद रिक्त भएको सभामुख घिमिरेले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधित्व गर्ने प्रतिनिधि सभाका सदस्य डा. ढाकाकुमार श्रेष्ठलाई सम्बन्धित संसदीय दलले पार्टीको साधारण सदस्यताबाट निष्कासन गरेको र त्यो निर्णय बमोजिम निजको सांसद पद रिक्त हुने भनी निर्णयसहितको सूचना राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३४ को उपदफा १ बमोजिम सङ्घीय संसद् सचिवालयमा दिएकोले त्यही ऐनको दफा ३५ बमोजिम सभालाई जानकारी गराउँछु । साथै राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३६ बमोजिम प्रतिनिधि सभा सदस्यको त्यस स्थान रिक्त भएको व्यहोरासमेत माननीय सदस्यहरूलाई जानकारी गराउँछु ।’
श्रेष्ठ राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिकतर्फबाट प्रतिनिधि सभा सदस्य हुनुभएको थियो ।
खबर बजार । १२ बैशाख २०८०, मंगलवार १६:३४