एमसीसी आजै अनुमोदन गर्ने सत्तारुढ गठबन्धनको निर्णय

काठमाडौं । सत्ताधारी गठबन्धनले अमेरिकी सहयोग सम्बन्धि परियोजना मिलेनियम च्यालेञ्ज कम्प्याक्ट (एमसीसी) आजकै संसद् बैठकबाट अनुमोदन गर्ने निर्णय गरेको छ ।

बालुवाटारमा आज भएको सत्ताधारी गठबन्धनको बैठकमा अघिल्लो आइतबार प्रतिनिधि सभामा सरकारले पेश गरेको एमसीसीलाई प्रतिनिधि सभाको आजकै बैठकबाट पारित गर्ने गरी सहमति भएको हो ।

बैठकले संसदमा उठेका प्रश्नहरुमा सरकारको जवाफ र व्याख्यात्मक टिप्पणीसमेत संलग्न हुनेगरी एमसीसी सम्झौता अनुमोदन गर्ने निर्णय भएको कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले बताउनुभयो ।

यसअघि सत्ताधारी दल नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) भित्रको असन्तुष्टीले गर्दा झमेला उत्पन्न भएकोमा अव समाधान भइसकेको छ ।

एमसीसीको बिरोधमा कार्यकर्ता सडक आन्दोलनमा परिचालन गरेका दुबै दलले सत्ता गठबन्धन जोगाइराख्न एमसीसीको पक्षमा मतदान गर्ने निर्णय गरेका हुन् ।

प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको संस्थागत निर्णय मागेपछि शनिवार दिनभर नेकपा (एकीकृत समाजवादी) र नेकपा (माओवादी केन्द्र) का नेताले आ आफ्नो पार्टीमा सल्लाह गरेका थिए ।

गठबन्धत भत्किँदा आगामी तीनै तहका निर्वाचन नेकपा (एमाले) सँग एक्लै लडेर जित्न नसकिने आँकलन गरेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले एमसीसी पास गर्ने समझदारी गरेका थिए ।